स्वास्थ्य सामाग्री वितरणका साथै स्वास्थ्यको वारेमा स्थानीयलाई जानकारी गराउँदै वडाका जनप्रतिनिधिहरू । तस्विर : चित्र कार्की
ई–आर्थिक, काठमाडौं । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उहाँको भनाइ छ ।
सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।
स्वयंसेविकाले स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुका साथै स्वास्थ्य सम्बन्धि जनचेतनामूलक विषयमा स्थानीयलार्ई जानकारी समेत दिंदै आएका छन् ।