ई–आर्थिक, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (साविकको एनआरएन) ले थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) निष्काशन गर्ने भएको छ । संस्थाको १२,९८,२५९ कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ ।
उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा किसान लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।
किसान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु. १ अर्ब, जारी पूँजी रु. ५२ करोड २६ लाख र चुक्तापूँजी रु. ३९ करोड २८ लाख रहेको छ भने सर्वसाधारणहरुलाई थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) मार्फत शेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्तापूँजी रु.५२ करोड २६ लाख हुने भएको छ ।
किसान लघुवित्त (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो ।
२०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल फाल्गुण १६ गते देखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
धनगढी २, बैहाबेहडी कैलाली केन्द्रीय कार्यालय र बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाडौंमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्त मर्ज गरि आफ्नो कार्यक्षेत्र ४६ जिल्लामा विस्तार गरिसकेको छ ।
हाल यसका १३६ वटा शाखाबाट ११०५७८ ग्राहक सदस्यहरुलाई सेवा दिइरहेको र हाल सम्म रु. १ अर्ब ७ करोड २५ लाख बचत रु. ५ अर्ब ३७ करोड कर्जा लगानी रहेको संस्थाले जानकारी दिएको छ ।