२०८३ भाद्र २९ सोमबार

महिला चेम्बरको ट्रेड फेयर समापन, उत्कृष्ट स्टल पुरस्कृत

ई आर्थिक    शुक्रबार, फाल्गुन २८ २०७७
12K
Shares
महिला चेम्बरको ट्रेड फेयर समापन, उत्कृष्ट स्टल पुरस्कृत

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।

व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गर्नुभयो । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताउनुभयो । साना र घरेलु उद्योगहरूलाई प्रबद्र्धन गर्दै मुलुकलाई औद्योगिकरणको मार्गमा लैजान उहाँले व्यवसायीहरूलाई आग्रह गरे । ‘हामी उद्योगहरू र औद्योगिक क्षेत्रहरूलाई सुरक्षा उपलब्ध गराउन हरदम तयार छौँ’, उहाँले भने, ‘स्थानीय सीप र साधन प्रयोग गरी आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्न तपाईँहरू सफल हुने विश्वास लिएको छु ।’

मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताउनुभयो ।

‘हामी महिला उद्यमी तथा व्यवसायीहरूले उत्पादन गर्ने सामग्रीहरूलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘आउँदा दिनमा पनि चेम्बरले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।’

ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताए । ‘महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ, सबै क्षेत्रहरूमा समान अवसर उपलब्ध गराएर विकासको आधार बनाउन सकिन्छ ।’

उत्कृष्ट स्टललाई पुरस्कार

मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको छ भने अग्नि नेपाल प्रालिले द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै तृतीय स्थान गोर्खा चेम्बर अफ कमर्सले प्राप्त गरेको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए । गत सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले मेलाको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij