ई–आर्थिक, काठमाडौं । कोरोना बीमाको विषयमा बिवाद र आलोचना भइरहँदा बीमा कम्पनीको छाता संस्था नेपाल बीमक संघले मुख खोलेको छ । बीमा कम्पनीहरुले बीमक संघमार्फत दावी भुक्तानीको लागि कटिबद्ध भएको भन्दै एक दैनिक पत्रिकामा बक्तव्य प्रकाशित गरेर संघको प्रष्टिकरण दिएका हुन ।
संघका अनुसार अहिले कोरोना बीमा दाबी भुक्तानी ६० करोड भन्दा बढी रहेको छ । झण्झटिलो प्रक्रियाका कारण बीमा दाबी भुक्तानी ढिलाई भइरहेको छ ।
बीमक संघले कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको पनि स्वीकार गरेका छन् । संघले कोभिड भाइरस संक्रमण फैलिएर कतिपय बीमा कम्पनी तथा बीमा समिति समेतको कार्यालय सुचारु हुन नसकेको अवस्थाका कारण कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको बताएको छ । संघले कोरोना बीमाको सबै दावी भुक्तानी हुने जनाएको छ ।
संघले भाद्र २८ गतेसम्म जारी भएका बीमा पोलिसीको कोरोना पोजेटिभ हुने वित्तिकै एक लााख रुपैयाँ पाइने बिज्ञप्तिमार्फत प्रष्ट पारेको छ । भाद्र २८ गतेपछि जारी गरिएको बीमा पोलिसी अनुसार बीमितलाई कोरोना भाइरस पुष्टि भएमा २५ हजार र थप उपचार गर्नुपर्ने अवस्थामा ७५ हजार रुपैयाँ अस्पतालको बिल अनुसारको भुक्तानी हुने बताएको छ ।
संघले कोरोना बीमाको दावी भुक्तानीमा आउनसक्ने नैतिक जोखिम न्यूनिकरणको उपाय अवलम्वन गर्ने प्रयासका कारण केही ढिलाई भएको दावी गरेको छ ।
कोभिड पोलिसी खरिद गरी कोरोना भाइरसबाट संक्रमित पुष्टि भएकाहरुले ७ प्रकारका कागजात पेश गर्न आह्वान गरेको छ । नेपाल बीमक संघले आज जारी गरेको सूचनामा कोरोना बीमाको दावी भुक्तानीको लागि निम्न कागजात पेश गर्न संघले बिज्ञप्तिमार्फत भनेको छ ।
१. बीमालेखको प्रतिलिपि,
२. पूर्ण रुपमा भरिएको दावी फारम,
३. कोरोना भाइरस संक्रमण पुष्टि हुने पिसिआर परिक्षण सक्कल प्रति
४. होम आईसोलेशनमा बसेको अवस्थामा स्थानीय निकायबाट होम आईसोलेशनमा बसेको बारे प्रमाणित पत्र
५. अस्पताल वा आईसोलेशन केन्द्रमा भर्ना भएको अवस्थामा डिस्चार्ज सिट
६. संक्रमित बीमितको परिचय खुल्ने आधिकारिक पत्र (नागरिकताको प्रमाण पत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्र)
७. अस्पताल भर्ना भई उपचार गर्नु परको अवस्थामा उपचारको बिलहरु (२०७७ भाद्र २८ गते पछि जारी बीमालेखको हकमा मात्र)