ई–आर्थिक, काठमाडौं : बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा आएको पहिरोले ३ जना बालबालिकाको मृत्यु भएको छ । सो स्थानमा परेको लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर ती बालबालिकाको मृत्यु भएको हो ।
मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । मृत्यु भएका दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।
त्यसैगरी सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।