ई–आर्थिक, काठमाडौं । क्वारेन्टिनमा खटिएकी एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरुको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।
जेठको ३० गते उहाँको स्वाब संकलन गरिएको ती स्वास्थ्यकर्मीको शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित ती स्वास्थ्यकर्मीलाई अहिले पथरिया स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड तयार गरेर राखिएको छ ।
सुदुरपश्चिम प्रदेशमा यसअघि ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ । यसअघि कञ्चनपुरका २ जना, डडेल्धुरकामा २ जना र सेती प्रादेशिक अस्पतालमा १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।
त्यसैपनि सुदुरपश्चिममा संक्रमित बढिरहेको बेलामा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेपछि सुदुरपश्चिवासी त्रसित भएका छन् ।