२०८३ साउन १२ मंगलबार

भारतबाट कालीकोट फर्किएका मानिस चढेको टिपर खस्दा दुई जनाको मृत्यु

ई आर्थिक    बुधबार, जेष्ठ २८ २०७७
7.4K
Shares
भारतबाट कालीकोट फर्किएका मानिस चढेको टिपर खस्दा दुई जनाको मृत्यु

ई–आर्थिक, जुम्ला । कर्णाली नदीमा एउटा टिपर खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताएका छन् । दुवै मृतक महिला हुन् ।

दुर्घटनापछि नदीमा हराएकामध्ये ३४ जनालाई जीवितै उद्धार गरिएको र १२ घाइतेलाई अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन् ।
एक महिला र एक बालिका गरी दुई जना अझै बेपत्ता छन् ।

गैरैका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले प्रदेश सरकारको सहयोगमा हेलिकप्टरमार्फत् सुर्खेत र काठमाण्डू पठाएको छ ।

अरू घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको डा. कटक महतले जानकारी दिए ।

डा. कटक महतका अनुसार गम्भीर घाइते भएकी २० वर्षीया महिलाका तीनमहिने शिशुलाई केही नभएको डा. महतले बताए । दुर्घटना लालीघटामा बिहान साढे १० बजेतिर भएको हो ।

अधिकांश भारतबाट फर्किएका

उक्त टिपरमा चढेकामध्ये अधिकांश व्यक्ति भारतबाट घर फर्किएका मानिसहरू भएको र उनीहरूलाई जितेबाट रासकोटतिर क्वारन्टीनमा राख्न लगिँदै गरेको बुझिएको छ । उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको थियो ।
दुर्घटनापछि नदीमा बेपत्ता भएका दुई जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । टिपरमा ३९ जना चढेको बताइएको छ। यात्रीहरूका अनुसार टिपरको क्षमताभन्दा बढी मानिस चढेकोले दुर्घटना भएको हो ।

भारतमा कार्यरत नेपालीहरू अहिले घर फर्किने क्रम बढेको छ । कर्णाली प्रदेशमा अहिले भारतबाट फर्किएका हजारौँ मानिसहरू क्वारन्टीनमा छन् ।

बीच बाटोबाट पनि चढेका थिए यात्री

नदीबाट पौडी खेलेर आफ्नो ज्यान जोगाएकी एक महिलाका अनुसार उक्त टिपरमा उनीसहित अरू केही मानिस बीच बाटोबाट चढेका थिए । पहिला कोरोनाभाइरस सर्ने डरले आफूहरू चढ्न नमानेको भए पनि चालकले केही हुँदै भनेर गाडीमा चढाएको र धेरै मानिस भएकाले दुर्घटना भएको उनको भनाइ छ ।

‘मेरा फुपू, देउरानी र उनकी छोरी (कर्णालीमै) हराए,’ कालीकोटको रासकोट नगरपालिका घर भएकी ३५ वर्षीय मनिता सार्कीले भनिन् । ‘म पानीमा खसेकी हुनाले पौडी खेलेर बाँच्न सफल भएँ । नदीको छेउमा खसेकाहरूलाई धेरै चोट लागेको छ । मलाई अलिकति मात्र खुट्टामा चोट लागेको छ ।’

‘मसँगै आएकाहरू छेउमा परेर धेरै चोट लाग्दा तत्काल उद्धार नभएपछि मर्नुपरेकोले दुःख लागेको छ,’ उनले भनिन् ।
उनका अनुसार गाडीमा महिला र अरू बालबालिका पनि थिए । बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij