ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बैकले संघीय सरकारलाई १२ लाख रुपैयाँ, प्रत्येक प्रदेश सरकारलाई ४ लाख रुपैयाँका दरले २८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जानकारी दिएको छ ।
उक्त सहयोगले बर्तमान असहज परिस्थितिमा कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।