बिहानै गणेशजीसँग मागेको ‘शुभलाभ’ ग्रहण गर्दै गर्दा उनी प्रहरीको फन्दामा परे । सायद, हिन्दु बाहुल्य मुलुक यस्तो महाबिपत्तिमा परेको बेला कालोबजारीबाट आएको पैसाबाट खरिद गरिएको मिठाई गणेशजीलाई पनि मन परेन होला कि !
ई–आर्थिक, काठमाडौं । मंगलबार शंकर ग्रुपका संचालक सुलभ अग्रवाल निलो प्लेटको गाडीमा चढेर गणेश मन्दिर पुगे र केही मिठाई चढाए, अनि ‘चिताएको आर्थिक प्रगति होस, प्रभु’ भन्दै घर फर्किए । बिहानको खाना खाएर हतार–हतार घरबाट बाहिरिए ।
अहिले सरकारले लकडाउनको घोषणा गरेर सबै नागरिकलाई घरभित्रै सुरक्षित बस्न भनेको छ । अधिकाँश उद्योगी ब्यबसायीले यसको पालना गरेर घरमै बसेका छन् । तर सुलभको दैनिकी उस्तै ब्यस्त छ, जुन अरु सामान्य अबस्थामा हुने गथ्र्यो । यसको भेउ उनको परिवारले पनि सायद पाएको थिएन होला । कुटनीतिक नम्बर प्लेटको गाडी भएकाले उन्लाई जहाँ हिडे पनि छेकबार थिएन । मंगलबार भने उनको श्रीबृद्धिमा नराम्रोसँग ठेस लाग्यो ।
बिहानै गणेशजीसँग मागेको ‘शुभलाभ’ ग्रहण गर्दै गर्दा उनी प्रहरीको फन्दामा परे । सायद, हिन्दु बाहुल्य मुलुक यस्तो महाबिपत्तिमा परेको बेला कालोबजारीबाट आएको पैसाबाट खरिद गरिएको मिठाई गणेशजीलाई पनि मन परेन होला कि !
केही दिनदेखि ज्वरो नाप्न प्रयोग गर्ने मेडिकल उपकरण थर्मोगन खरिद गर्न केही ग्राहकले बार्गेनिङ गरिरहेका थिए । उनले ‘यो बेला थर्मोगन कहाँ पाइन्छ ?’ भनेर सुरुमा टार्ने प्रयास गरे । सुलभले यो उपकरणको अभाब देखाएर कालोबजारी गरिरहेको बारेमा प्रहरीकहाँ बलियो र भरपर्दौ सूचना पुगिसकेको थियो ।
निजी क्षेत्रको प्रतिष्ठित औद्योगिक घराना नै कालोबजारीमा संलग्न भएको सूचना पाएपछि प्रहरीले अपरेशनका लागि तयारी सुरु ग¥यो । यसबाट संकटको बेला निजी क्षेत्र कालोबजारीमा लाग्छ भन्ने प्रमाण जुट्नुको साथै यस्तो बद्मासीलाई नियन्त्रण गर्न प्रहरी सक्षम छ भन्ने सन्देश दिन पनि प्रहरीले जरुरी ठान्यो । अब प्रहरी ‘ग्राहक’ बन्यो ।
सुलभललाई आफै र बिभिन्न सुत्र प्रयोग गरी थर्मोगन खरिद गर्न चाहेको बतायो । सुरुमा सुलभले यसको निकै ठूलो अभाब रहेको बताए । ग्राहक (प्रहरी) ले तपाईबाहेक अरुले यो ल्याउन नसक्ने हुदा जसरी भए पनि ल्याइ दिन भन्दै आग्रह गरे । सुलभले ग्राहकलाई निकै आवश्यक छ भन्ने बुझेर भनिहाले ‘ल ठीकै छ, तर यसको मूल्य थाहा छ ?’ ग्राहकले भने ‘पहिले त हामीले ५/६ हजारमा ल्याएका थियौ । अहिले कति पर्छ होला ?’ ‘त्यो त पहिलेको कुरा भयो भाई, पहिले कोरोना आएको थियो, थिएन नि । पहिलेको मुल्यमा म ल्याउन सक्दिन ।’ सुलभले कुरा प्रष्ट पारे । ‘कति पर्छ त, सर ?’ ग्राहकले सोधे । ‘त्यस्तै २०/२२ हजार दिने हो भने म झिकाई दिन्छु । अरुले यतिमै लगिरहेका छन् ।’ सुलभले भने । अब प्रहरीलाई प्रष्ट भयो कि सुलभले थर्मोगन कालोबजारी गरिरहेको भन्ने सूचना एकदमै सही छ । केही बागेनिङ गरेजस्तो गरेपछि १६ हजारमा कुरा मिल्यो ।
प्रहरीले यसको प्रमाणका लागि ‘हुन्छ’ भनेपछि सुलभले तुरुन्तै बोलाए । सुलभ कूटनीतिक नियोगका कर्मचारी वा राजदूतहरुले प्रयोग गर्ने निलो प्लेटको गाडीमा एक झोला थर्मोगन राखेर हुइकिए । केही बेरमा ग्राहक पनि आइपुगे । ‘तपाईले भनेर कस्तो दुःख गरेर यति ल्याइ दिएको छु…’ भनेर सुलभले के भन्न भ्याएका थिए, ग्राहकले ‘तपाई प्रहरीको नियन्त्रणमा पर्नुभयो’ भनेर जानकारी गराए । यो सुनेर होसहवास गुमाएका सुलभले आफूलाई सम्हाल्दै ‘अबैतनिक बाणिज्यदुत भएको’ जानकारी गराएर उम्कने खोजे । उनी नेपालका लागि किर्गिस्थानको अवैतनिक बाणिज्यदूत पनि हुन ।
कुटनीतिक ब्यक्ति भएर यस्तो कालोबजारी गर्ने भनेर प्रहरीले झन हप्काउँदै उन्लाई नियन्त्रणमा लियो । उनी उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष तथा जगदम्बा र शंकर ग्रुपका संचालक हुन । लक्ष्मणबाबु भवन नक्सालमा रहेको जगदम्बाको गोदामबाट उनले थर्मलगनको कालोबजारी गर्दै आएका थिए । उनले थर्मल गन मात्र नभई एन नाइन फाइभ मास्कहरु पनि कालोबजारी गरेको बताइन्छ । सुलभले चीनको ग्वाङ्झाओबाट चैत २० गते विमान चार्टर गरी यि उपकरण ल्याएका थिए । अग्रवालले थर्मोगनको १६ हजार रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेका थिए भने मास्कको ७ सय रुपैयाँमा बिक्री गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीले थर्मोगन खोजीका लागि जाँदा त्रिपुरेश्वरको एक सर्जिकलले २२ हजार रुपैयाँमा लिने भए ल्याइदिने भनेपछि कालोबजारीको रहस्य खुलेको थियो । यस घटनाले प्रहरीको बिस्वानियता बढ्नुको साथै कालोबजारी गर्नेहरु केही हदसम्म हतोत्साही भएका छन् । हरेक उपभोक्ता सचेत भएर यसरी नै सूचना दिने हो भने कालोबजारी नियन्त्रणमा ठूलो सहयोग पुग्छ भन्दै प्रहरीले सबै नागरिकलाई आवश्यक सहयोग गर्न अपिल समेत गरेको छ ।
अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।