ई आर्थिक, काठमाडौं। राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरसको संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै कर्मचारीहरूलाई घरबाटै काम गर्ने व्वस्था मिलाएको जनाएको छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणविरुद्ध सरकारले लिएको व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न राष्ट्रिय सहकारी महासंघ कर्मचारी परिवार प्रतिबद्ध रहेको जनाइएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै महासंघका कर्मचारीहरुलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, अर्काे सूचना जारी नभएसम्म कुनै पनि वैदेशिक भ्रमण नगर्न, आफ्नो जिम्मेवारीमा परेका कार्यक्रमहरु समेत स्थगित गर्न र नियमित रुपमा सम्पर्कमा रहन निर्देशन दिएको छ ।
यसका साथै कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर राख्दै भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
राष्ट्रिय सहकारी महासंघले आफ्नो कर्मचारीलाई भीडभाडमा नजान निर्देशन दिँदै आफ्नै सवारी साधान नभएका कर्मचारीलाई घरमै बसेर काम गर्ने व्यवस्था मिलाएको जनाइएको छ । आफ्नै सवारी साधान नभएका कर्मचारीलाई घरमै बसेर काम गर्ने व्यवस्था मिलाइएको पनि उल्लेख गरेको छ।
कार्यालयमा जाँदा आउँदा भीडभाड हुने र एक जनालाई संक्रमण भएमा अर्कालाई सर्ने सम्भावना बढी देखिएकाले घरबाटै काम व्यवस्था प्रभावकारी हुने भन्दै महासंघले जोखिम न्यूनीकरणका लागि कर्मचारीलाई मास्क, स्यानिटाइजरसमेत उलब्ध गराइएको बताएको छ ।
साथै कर्मचारीलाई आर्थिक समस्यासमेत पर्न नदिने व्यवस्था गरिएको र सकेसम्म डिजिटल कारोबार गर्न समेत प्रोत्साहन गरेको बताएको छ ।