ई– आर्थिक, काठमाडौं । ९९ प्रतिशत काम सम्पन्न भयो भनिएको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौमा पानी कहिलेसम्म आइपुग्छ भन्नेमा बिभागी मन्त्री बिना मगर र आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले स्पष्ट पार्न सकेनन् । बिहीबार मेलम्ची खानेपानी आयोजनाबारे स्वेतपत्र जारी कार्यक्रममा खानेपानीमन्त्री मगर र कार्यकारी निर्देशक खत्रीले प्रष्टसँग यो महिनामा काठमाडौबासीलाई मेलम्चीको पानी खुवाउँछौ भनेर प्रतिबद्धता जनाउन सकेनन् । उनीहरुले काठमाडौं उपत्यकाको सट्टा काठमाडौंको सुन्दरीजलसम्म पानी आउने कुराको मात्र प्रष्ट पारे । जबकि उपत्यकाबासीले मेलम्चीको पानीबारे प्रष्ट हुन खोजेका छन् ।
सुन्दरीजलसम्म भने आउँदो असार महिनासम्ममा पानी आउने मन्त्री मगरको भनाई थियो । यो आर्थिक वर्षभित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने मन्त्रीले घोषणा गरिन । त्यो भनेको असारभित्रसम्म हो । सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने गरी भइरहेको कार्यकारी निर्देशक खत्रीले बताए । उनका अनुसार ड्याम सक्नका लागि केही समय लाग्छ । तर अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झार्ने तयारीमा सरकार रहेको खत्रीको भनाई थियो । यसले कहिलेसम्म पानी उपत्यकामा आउँछ भन्ने अन्योल देखिएको छ ।
सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक बर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । कार्यकारी निर्देशक खत्रीले त्यसबारेमा सम्बन्धित निकायले अनुगमन गरिरहेको बताए । बेलाबेलामा देखिएका विभिन्न समस्या तथा ठेक्का सम्झौता रद्द गर्नुपर्ने बाध्यताले निर्माणमा ढिला भएको खत्रले बताए ।
सीएमसीले छाडेपछि काम शुरु गरेको कम्पनीले राम्रै गरिरहेको उनले जानकारी दिए । कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म २७ अर्ब ९४ करोड खर्च भइसकेको छ । मेलम्चीको पानी खाने उपत्यकाबासीको ०४८ सालदेखिको सपना हो । वि.सं २०४८ सालको निर्वाचनको बेला तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेण्डा बन्ने गरेको छ ।
काममा ढिलासुस्ती हुन थालेपछि सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको परियोजनामा समाबेश गरेर अघि बढाएको हो । यो परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्नेछ । यसको लागि परियोजनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको मेलम्चीमा रहेको मेलम्ची यांग्री र लार्के नदिलाई डाइभार्ट गर्छ । यो आयोजनालाई एसियाली बिकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।