ई–आर्थिक, काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना ल्याएको छ । कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तांकको आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधनसहित अधिकतम १० दशमलव ५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा २३ डिसेम्बर, २०१९ मा राजधानीबाट सुरु गरिएको थियो ।
सो समारोहमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाध्यक्ष रामचन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।
योजनाको शुभारम्भ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीको अवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो ।’
कर्जा प्रशोधन प्रक्रियालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजना अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेमा पनि उनले जोड दिए ।
साना तथा मझौला उद्यमको विकासका निम्ति बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरूप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो ।
यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिई सकिने आकर्षक प्याकेजका साथ आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १ सय २ शाखा १ सय ४३ एटीएम र १ हजार ५ सय बढी नबिल रेमिट एजेन्ट छन् । साथै बैंकले देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।