ई–आर्थिक, काठमाडौं । काठमाडौंमा ‘छैठौँ महिला उद्यमी सम्मेलन– २०२०’ हुने भएको छ । नेपाली युवा उद्यमी फोरमले पत्रकार सम्मेलन आयोजना गरी माघ १२ गते काठमाडौंको लाजिम्पाट स्थित होटल ¥याडिसनमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो । ‘कनेक्ट, कोलाबोरेट र क्रियट’ नारा राखिएको उक्त सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाली युवा उद्यमी फोरमका उपाध्यक्ष उपासना श्रेष्ठले विभिन्न व्यवसाय तथा उद्यमशीलता प्रति आकर्षित युवाहरुलाई लक्षित गरेर महिला उद्यमशीलता सम्मेलन आयोजना गर्न लागिएको बताइन् । सम्मेलनमा व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा सफलता पाइरहेका उद्यमी व्यवसायीहरुको अनुभव, योजना र व्यवसायीक साझेदारी साटासाट हुने उनले बताइन् ।
सम्मेलनमा उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरु गरी करिब ३ सय जनाको उपस्थिति रहने अनुमान गरिएको छ ।
कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने उपाध्यक्ष श्रेष्ठले बताइन् ।