ई–आर्थिक, काठमाडौ । आइएई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ६.५ प्रतिशत बोनस शेयर लाभांश दिने भएको छ । गत शुक्रबार बसेको सन्चालक समितिको बैठकले लाभांश दिने सम्बन्धमा निर्णय गरेको हो ।
निर्जीवन बीमा कम्पनीमध्ये यो कम्पनीले पहिलोपटक नाफाबाट लाभांश घोषणा गरेको छ । बैठकले ६ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर समेत लाभांश घोषणा गरेको हो । कम्पनीले यसै वर्ष हकप्रद शेयर निष्कासन गरेको थियो ।
हकप्रद शेयर निष्कासनपछि कम्पनीको बीमा समितिले तोकेको पुँजी पु¥याएको थियो । अहिले कम्पनीको पुँजी एक अर्ब दुई करोड रूपैयाँ छ । बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब आठ करोड रूपैयाँ हुनेछ । बोनस शेयर आगामी वार्षिक साधारणसभामा पेश गरिने कम्पनीले जानकारी दिएको छ ।
खराब अवस्थाको एनबि इन्स्योरेन्सलाई आइएमई समुहले ह्याण्ड ओभर गरेर लगातार प्रगतिउन्मुख गराइरहेको छ । यस कम्पनीले गत वर्ष पनि ५ प्रतिशत बोनस शेयर दिएको थियो । यससँगै कम्पनीले तीनपटक लगातार हकप्रद शेयर निष्कासन गरिसकेको छ । तीन वर्ष अगाडि ८० प्रतिशत, दुई वर्ष अगाडि शतप्रतिशत र यस वर्ष ८० प्रतिशत हकप्रद शेयर बिक्री गरिसकेको छ ।