ई–आर्थिक, काठमाडौं । माथिल्लो डोल्पामा हिमपात आज पनि जारी छ । बुधबार राती परेको भारी हिमपात जारी रहेपछि त्यहाँको जनजीवन निकै कष्टकर बनेको छ ।
मंसिरमै हिउँ परेपछि त्यहाँको तपाक्रम माइनस १२ डिग्रि भन्दा तल पुगेका छ । यसले चिसो अत्याधिक बढेको र स्थानीयबासीहरु हिडडुल गर्न नसक्ने अबस्थामा छन । भारी हिमपातले माथिल्लो डोल्पाको पूरै भू–भाग हिउँले सेताम्मे भएको छ । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेका छन ।
हिउँ परेसँगै डोल्पाको सदरमुकाम दुनैमा समेत तापक्रम घटेको छ । आज दुनैको तापक्रम माइनस २ भन्दा कम रहेको छ । तल्लो डोल्पाका उच्च भू–भगमा समेत हिउँ परेको छ । मौसम परिवर्तनसँगै भारी हिमपात हुनसक्ने भएकाले चिसोबाट जोगिन वृद्धवद्धा र बालबालिकालाई झोलिलो खानेकुरा खानुका साथै चिसोबाट जोगिन घरमै बस्न चिकित्सकले आग्रह गरेका छन ।
यस्तै छिमेकी जिल्ला हुम्लामा पनि आज बिहानैबाट हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ भने हवाई उडानमा समेत समस्या परेको छ ।