ई–आर्थिक, काठमाडौं । आज सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिबालयको बैठक सम्पन्न भयो । भर्खरै कार्यकारी अध्यक्ष बनेका प्रचण्डको अध्यक्षतामा बसेको बैठकले स्थायी समितिको बैठकको टुँगो, बिधान संशोधन, बामदेब गौतमलाई उपाध्यक्ष बनाउने लगायतका निर्णय गरेको छ । यस निर्णयले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको योजना साकार हुदै गएको छ ।
तीन महिनाभन्दा बढी समय उधारो उपाध्यक्ष बनाएर आफ्नो पक्षमा अन्धोभक्त बनाएका ओलीले अब उनलाई तल्ला कमिटिमा लगेर बिबादित बनाउने योजनामा छन् । आज सोमबार सम्पन्न नेकपाको सचिबालय बैठकले आगामी स्थायी समितिको बैठक आब्हान गरिसकेको छ भने उपाध्यक्ष बनाउने प्रस्ताब पनि टेबल गरिने छ । स्थायी समितिमा बामदेबलाई उपाध्यक्ष बनाउन नहुने मत निकै बलियो छ ।
स्थायी समितिमा ब्यापक आलोचना गराउन सके बामदेब उपाध्यक्षको मोहबाट पछि हट्न सक्ने ओलीको बुझाई छ । यसले बामदेब निकै कमजोर हुने ओलीले ठानेको स्रोत बताउँछ । यस्तो खेलमा केपी निकै माहिर मानिन्छन् । यसअघि पनि उनलाई पोखराबाट प्रतिनिधिसभाको उम्मेद्वारको प्रस्ताब गरेर ओलीले देशभर बामदेबको हुर्मत लिएका थिए । अत्यन्तै तल्लो स्तरबाट आलोचना भएपछि बामदेब पछि फर्कनु परेको थियो । तर उनलाई राजनीतिक रुपले ठूलो नोक्सानी भयो ।
पछिल्लो समय आफूलाई उधारो उपाध्यक्ष बनाइएको भन्दै असन्तुष्ट पोख्न थालेपछि ओलीले मैले त चाहेको थिए, स्थायी समिति र केन्द्रीय कमिटिले चाहेन भन्ने बनाउन हरेक केन्द्रका बिभिन्न तहमा उनको बारेमा बहस गराएर आलोचना गराउने उद्देश्यमा केपी देखिन्छन् । त्यसो त ओलीले उनलाई उपाध्यक्ष बनाउनको लागि प्रस्ताब नै गरेका होइनन् । माधब नेपाल, बामदेब र प्रचण्डबिच एकता हुन नदिन उनले यो कार्ड फालेको जानकार बताउँछन् ।
बामदेब पद्लोलुप छ भनेर देखाउन र आलोचना गराउन उनी यस्तो योजना बनाइरहेका छन् । आफ्नो पदको लागि जे गर्न पनि बामदेब तयार छ भनेर सार्बजनिक रुपमा खुइल्याउने उनको योजना छ । अहिले पार्टीको बिधानमा उपाध्यक्षको ब्यबस्था छैन । अहिलेको विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव सहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ । उनलाई उपाध्यक्ष बनाउन बिधान संशोधन गर्नुपर्छ ।
बामदेबलाई उपाध्यक्ष बनाउने कार्डले भने ओलीलाई फाइदै गरेको छ । यो कार्ड फालेपछि प्रचण्डसँग घाँटी जोडिसकेर केपीको आलोचना गर्न थालेका बामदेब अहिले ओलीको अन्ध समर्थक बनेका छन् । त्यसो त बामदेब पनि आफ्नो स्वार्थका लागि केपीको समर्थक बनेको बुजु्रकहरु बताउँछन् ।
अबको स्थायी समिति बैठकमा नेकपाले पार्टीको कार्यदिशा पनि परिवर्तनको सोच बनाएको छ । ‘वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने’ भन्ने शब्द राख्ने नेकपाको तयारी छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा पार्टीको कार्यदिशाको बारे केही उल्लेख थिएन । पछिल्लो समयमा कार्यदिशाबारे बहश चलेपछि नेकपाले यसबारेमा टुंगो लगाउन लागेको हो ।