२०८३ साउन ११ सोमबार

सम्झौता कार्यान्वयन नभएको भन्दै युनाइटेड मोदी हाइड्रोपावरका कर्मचारी आन्दोलित

ई आर्थिक    शनिबार, मंसिर १४ २०७६
3.8K
Shares
सम्झौता कार्यान्वयन नभएको भन्दै युनाइटेड मोदी हाइड्रोपावरका कर्मचारी आन्दोलित

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन्। यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ आयोजना र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको छ।

केही महिनाअघि पनि कर्मचारी र आयोजनाबीच विवाद भएपछि १२ प्रतिशतसम्म तलब वृद्धि गर्ने सहमतिसहित विवाद सुल्झिए पनि पुनः कर्मचारीले तलब वृद्धि नगरी भत्तामात्रै वृद्धि गरेको भन्दै आन्दोलित बनेका हुन्।

आयोजनामा कार्यरत असन्तुष्ट ३५ कर्मचारीले आयोजनाले पटक–पटक आफूहरुलाई झुक्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले आवश्यक न्याय दिलाउन माग गरेका छन्।

“आयोजनाले हाम्रो माग कहिल्यै सुनुवाइ गरेन”, आन्दोलित कर्मचारी सङ्घर्ष समितिका संयोजक भुवन अधिकारीले भने, “जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको निर्णय पनि कार्यान्वयन नगर्दा झनै समस्या भयो”, उनले आइतबारसम्म पुनःविचार नगरेमा आयोजनाको सम्पूर्ण तालाचाबी प्रवद्र्धक कम्पनीलाई बुझाउने चेतावनी दिए।

आन्दोलनरत कर्मचारीले ४० प्रतिशत तलब वृद्धि, महङ्गी भत्तालगायतका भत्ता रकम वृद्धि, पोशाक भत्ता, बीमालगायतका माग राखेका थिए।

श्रम ऐनअनुसार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी विनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको थियो।

यता आयोजनाका निर्देशक उपेन्द्र गौतमले भने कर्मचारीको असन्तुष्टि बेला–बेलामा रहँदै आएको र आयोजना र कर्मचारीबीच देखिएका समस्यालाई छिट्टै नै बसेर सहमति खोजिने बताए। दश मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाले विगत आठ वर्षदेखि उत्पादन दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij