२०८३ साउन १० आइतबार

मानव बेचबिखनको समस्या : व्यवस्थामाथि नै प्रश्न चिन्ह

ई आर्थिक    मंगलबार, मंसिर १० २०७६
17.3K
Shares
मानव बेचबिखनको समस्या : व्यवस्थामाथि नै प्रश्न चिन्ह

नीरज गौतम, नेपालगञ्ज । पछिल्लो समय नेपाली समाजमा मानव बेचबिखनको समस्यामा बृद्धि हुदैँ गएपछि सामाजिक व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको छ । यसले सरोकारवाला निकायलाई ठूलो चुनौती थपिदिएको छ ।

नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा पछिल्लो पाँच महिनामा ५ सय ८ महिला हराएको भन्दै खोजीका लागि निवेदन पर्नुले मानव बेचबिखन अब सतही विषय नभएको प्रष्ट भएको छ । बेचिएको तुलनामा उद्धारको प्रतिशत न्यून हुनु यसको अर्को दुःखद् पक्ष हो । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, उक्त अवधिमा हराएकामध्ये अहिलेसम्म ८० को मात्र उद्धार गर्न सकिएको छ ।

पछौटेपन र गरीबीलाई मानव बेचबिखनको मुख्य कारण मानिन्छ । नेपालले पनि यही नियति भोग्दै आएको छ । नेपालमा विशेषतः काम पाउने लोभमा बालबालिका र महिला बेचिने गरेका छन् । सरकारले भारतको बाटो भएर तेस्रो मुलुकमा रोजगारीका लागि जान रोक लगाएको छ तर, मानव दलालले भने विभिन्न जिल्लाका महिला तथा किशोर अवस्थाका बालबालिकालाई रोजगारीको प्रलोभनमा पारी भारत लैजाने गरेको मानव बेचबिखनविरुद्ध काम गर्दै आएका सङ्घसंस्थाले बताउँदै आएका छन् । माइती नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष १० हजार नेपाली महिला भारत र खाडीमुलुकमा बेचिने गरेका छन् ।

नेपालका अन्य सीमावती नाकाजस्तै बाँकेको सीमानाका जमुनहा हुँदै प्रत्येक वर्ष नेपाली महिला र बालबालिकालाई भारत र तेस्रो मुलुकमा लगेर विक्री गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले केही दिनअघि मात्रै भारतमा बेच्न लादै गर्दा उक्त नाकाबाट ४५ महिलाको उद्धार गरेको थियो । मानव तस्करले नयाँ तरिका अपनाउँदै भारतको विभिन्न स्थानमा पठाउने तयारी गरिरहेको अवस्था ती महिलाको प्रहरीले उद्धार गरेको थियो भने दुई दलाललाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताए।

तेस्रो मुलुकमा बेचिएका नेपाली महिला तथा बालबालिकाको खोजीका लागि सरकारी संयन्त्र नहुँदा उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । सचेतनाको कमी, गरीबी, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगजस्ता विभिन्न कारणले मानव बेचबिखन बढ्दै गएको माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाको ठम्याइ छ ।

बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिनहुँजसो निवेदन दिने गरेका छन् ।

केही महिनाअघि दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन महिलाको उद्धार दिल्लीबाटै भएको थियो । जोखिमपूर्ण यात्रामा रहेका ३ सय ५१ लाई बाँकेको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।

क्षेत्रीय संयोजक कोइरालाका अनुसार, भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाको भनाइ थियो ।

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमुलुक र केही भारतमा हराएको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्या बढेको छ ।

राम्रो तथा सुरक्षित काम दिलाइ दिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाँउगाँउमा सक्रिय रहेको कोइरालाको भनाई थियो ।

मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियान माइती नेपालले चलाउँदै आएको छ ।

यसका साथै, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्धार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाको पुनःस्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, पुनःस्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij