२०८३ साउन १० आइतबार

देशलाई नयाँ दिशानिर्देश दिन विकल्प खोजौं : अध्यक्ष भट्टराई

ई आर्थिक    सोमबार, मंसिर ९ २०७६
3.2K
Shares
देशलाई नयाँ दिशानिर्देश दिन विकल्प खोजौं : अध्यक्ष भट्टराई

ई–आथिक, काठमाडौं । समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्ट, काङ्ग्रेसलगायत पुराना पार्टीबाट देशलाई नयाँ दिशानिर्देश हुने विश्वास नरहेकाले विकल्पको खोजी गर्नुपर्ने बताएका छन् ।

पार्टीले पोखरामा आयोजना गरेको चुनावीसभामा बोल्दै भट्टराइले नेपाली काङ्ग्रेसले दुई÷दुई पटक बहुमतको सरकारको नेतृत्व गरिसकेको तथा नेकपाले दुई तिहाईको सरकार चलाउँदासमेत जनचाहना पूरा नगरेकाले नयाँ विकल्पको रुपमा समाजवादी पार्टी अगाडि आएको बताए। उनले समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

वर्तमान शासकीय स्वरुपलाई परिर्वतन गरी राष्ट्रपतिय शासन प्रणालीमा देशलाई लैजानुपर्ने धारणा राख्दै भट्टराइले भने “देशले महत्वपूर्ण उपलब्धी प्राप्त गरे पनि राज्य पूनःसंरचना गर्दा विविधताको सम्बोधन हुन सकेको छैन । लोकतन्त्रलाई मजबूत बनाउँदै नयाँ धारको विकासका लागि नयाँ विकल्प खोजौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराइले कालापानी र लिपुलेकको सीमा विवाद कर्मचारी तहबाट भन्दा पनि उच्चस्तरीय राजनीतिक वार्ता तथा कूटनीतिक तबरले वार्ता र सम्वादको माध्यमबाट समाधान खोजिनुपर्नेमा आफ्नो पार्टीको जोड रहेको बताए ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले देशमा परिर्वतन भए पनि दलित, महिला, जनजाति तथा पिछडिएको क्षेत्रका जनताले अझसम्म पनि समान अधिकार प्राप्त गर्न नसकेकाले असमानता र विभेद अन्त्यको लडाइ जारी रहेको बताएका छन् । उपनिर्वाचनलाई संघर्षको रुपमा पार्टीले लिएको बताउँदै उनले आर्थिक विकास, सुशासन र समृद्धिका लागि विभेदको अन्त्य जरुरी छ । उपनिर्वाचनमा पार्टीले जितेमा विभेदकारीलाई ठूलो थप्पड हुनेछ, जनताको जित हुनेछ भन्ने विश्वास लिएको बताए ।

उम्मेदवार धर्मराज गुरुङले तीन दशक विदेशमा बसेर आर्जन गरेको ज्ञान, सीप र दक्षतालाई नेपालमा लागू गर्नका लागि उम्मेदवार बनेको बताएका छन् । सभालाई पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङ, तमुधीं नेपालका अध्यक्ष कर्मा तमुलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij