ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालयलाई शाही आयोग बनाएको गम्भीर आरोप लगाएका छन् । फरक बिचार, आस्था राख्ने र सरकारको आलोचना गर्नेलाई अदालतबाट ठेगान लगाउने सरकारी नीति अख्तियार गरेको उनको आरोप छ । दुई तिहाईको शक्तिले न्यायधीसलाई महाभियोगको त्रासमा राखी आफू अनुकुल फैसला गराउने गरेको देउवाले बताए । स्वतन्त्र सञ्चार माध्यमलगायतका क्षेत्रको अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको उनको आरोप छ ।
नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसनको वार्षिक साधारणसभामा शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक परिषद्लाई पनि कठपुतली बनाउन खोजेको बताए। उनले कास्कीमा लामो समय योगदान गरेका नेता खेमराज पौडेललाई जिताउन पनि सबैसँग आग्रह गरे ।
सो अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा नियन्त्रण गर्ने सोचका साथ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाउँदै यसलाई राष्ट्रपतिले जारी गर्न नहुने धारणा राखे ।
कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आसन्न उपनिर्वाचन जनमत संग्र्र हजस्तै भएको बताउँदै निर्वाचनमा जनताको मन जित्दै पार्टीका उम्मेदवार विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध हुनु आवश्यक भएकामा जोड दिए ।
एशोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, महासचिव लक्ष्मी दाहाल, पूर्व अध्यक्ष शेरबहादुर केसी, फणीन्द्र कोइरालालगायतले स्वतन्त्र न्यापालिका र लोकतन्त्र एकापसमा अन्तरसम्बन्धित भएको बताउँदै लोकतन्त्रमा नै स्वतन्त्र न्यायालयको भूमिका प्रभावकारी बन्ने धारणा राखे ।
कार्यक्रममा समाचार सम्प्रेषणका माध्यमबाट कानून, न्याय र लोकतन्त्र संरक्षण एवं संवर्धनका क्षेत्रमा योगदान पु¥याएबापत ‘राष्ट्रिय समाचार समिति’ का उपसम्पादक जीवन भण्डारी र ‘हाम्रा कुरा डटकम’ का प्रधान सम्पादक अजयबाबु शिवाकोटीलगायतलाई सम्मान गरिएको थियो ।