ई–आर्थिक, काठमाडौं । आगामी पुसमा असोज तेस्रो साताबाट परीक्षण उत्पादन थालेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन गर्ने तयारी भएको छ । योसँगै सरकारी बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुग्ण बिद्युत परियोजनाको पुनर्जीबन दिएको जस पाएका छन् । उद्घाटनका लागि नेपाल विद्युत प्राधिकरणले तयारी तीब्र पारेको छ । हिजो मात्र माथिल्लो त्रिशूली थ्रि एको उद्घाटन गरेपछि प्राधिकरणको जनस्तरमा प्रशंसा भइरहेको छ । तुरुन्तै कुलेखान तेस्रो उद्घाटन भएमा प्राधिकरण र यसको नेत्तृत्व गर्दै आएका घिसिङको वाहवाही चुलिने छ । यो आयोजना निर्माण सुरु भएको १२ वर्ष भयो ।
यो आयोजना प्राधिकरणअन्तर्गत बनिरहेका रुग्ण जलविद्युत आयोजना हो । यसको उद्घाटन भएर ब्यबसायिक उत्पादन हुन थालेपछि प्राधिकरणका रुग्ण आयोजना सकिने छन् । यसबाट प्राधिकरण र राज्यलाई ठूलो लाभ प्राप्त हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र कुलेखानी तेस्रो आयोजनाको उद्घाटन गरिने जानकारी दिए । उनले त्यसपछि प्राधिकरणको ध्यान माथिल्लो तामाकोसीसहित कम्पनी मोडलमा बनिरहेका विभिन्न आयोजनामा केन्द्रित गरिने जानकारी दिए ।
चमेलिया र त्रिशुली थ्री ‘ए’ ले उत्पादन थाले पनि कुलेखानी तेस्रो आयोजना अन्योलमा थियो । अहिले कुलेखानी तेस्रोबाट परीक्षण उत्पादन भइरहेको छ । उत्पादित विजुली राष्ट्रिय प्रसारणमा जोडिएको छ । कुलेखानी १ र २ चलेका बेलामा मात्रै तेस्रो आयोजना चलाउन सकिने प्राधिकरणले जानकारी दिएको छ । अढाइ अर्ब रुपैयाँ लागत हुने अनुमान गरिएको यो आयोजना निर्माण अवधि लम्बिदा साढे चार अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् । पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगावाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा र्पुयाएर १४ मेगावाट उत्पादन हुँदैछ ।
यो आयोजना अप्रिल २००८ देखि सुरु भएको हो । सन डिसेम्बर २०११ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो । तर, १२ वर्षपछि आयोजनाले बल्ल परीक्षण उत्पादन थाल्न सक्यो । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । यो आयोजना नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको हो । यो आायेजनाको निर्माण लागत प्रतिमेगाट ३३ करोड बढी पर्ने अनुमान छ । समान्यतया अहिले प्रतिमेगावाट करिब २० करोड खर्च हुन्छ ।