ई–आर्थिक, काठमाडौं । सोमबार प्रधानमन्त्री निबास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दई अध्यक्षबीच मन्त्रीमण्डल पुनर्गठनको बारेमा छलफल हुदै थियो । मन्त्रीमण्डलमा नयाँ थप्ने र पुराना हटाउने बिषयमा लगभग कुरा मिल्न लागेको थियो । त्यही बेला अध्यक्ष प्रचण्डले यि सबै कुरा ‘प्याकेज’मा टुंगो लगाउने प्रस्ताब गरे । ‘प्याकेज’ भन्ने बित्तिकै प्रधानमन्त्री ओलीले कस्तो प्याकेज भन्ने जिज्ञासा राखे । बिगतमा भएको सहमति अनुसार कार्यकारी अध्यक्ष र प्रधानमन्त्री एक–एक पद बाँड्ने र सभामुखको कुरा पनि एकैसाथ सक्नु पर्ने बिषयलाई प्याकेज भनेर अथ्र्याए । यसले प्रधानमन्त्री ओलीको अनुहार अलि बिग्रियो । उनले बिगतको सहमति त स्मरण गरे, तर तत्काल त्यसमा सहमत हुन सकेनन् । यसबारेमा उनले आफूले सोच्ने बताए । प्रचण्डले त्यसो भए केही दिनपछि भए पनि प्याकेजमै सहमति गर्ने भन्दै भेटघाट टुंग्याए ।
केही समयअघि प्रचण्ड र बरिष्ठ नेता माधब नेपाल नजिकिन थालेपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई माधब नेपालसँग मिल्न नदिने रणनीति अन्तर्गत दुई अध्यक्षमध्ये एकले सरकार र एकले पार्टी चलाउने सहमति गरेका थिए । प्रचण्डले नेपाल कार्डको प्रयोग यसैको लागि खेलेका थिए । जब अध्यक्ष ओली नै यसमा सहमत भएपछि प्रचण्डले माधब नेपाल छाडिदिए र ओलीका हरेक कार्यमा चुप लाग्न थाले । प्रचण्डले ‘धोका’ दिएपछि माधब नेपाल एक्लिए । जब कि ‘तपाई र म मिलेर जाऔं । ओलीजीले पार्टी एकलौटी ढंगले चलाउन थाल्नुभो । बिधि प्रक्रिया भन्ने कुरै रहेन । तपाईलाई म सहयोग गर्छु’ भनेर माधब समक्ष प्रचण्डले नै प्रस्ताब गरेका थिए । यसबाट उत्साहित माधब नेपालले ओलीका गलत क्रियाकलापको पार्टीभित्र डटेर बिरोध गर्न थालेका थिए ।
नेपालको यस्तो कार्यबाट रुष्ट बनेका ओलीले माधब नेपाललाई साइजमा ल्याउने रणनीति अपनाए र प्रचण्डलाई फकाउन कार्यकारी अध्यक्षको प्रस्ताब राखे । यही खोजीरहेका प्रचण्डलाई अब माधब नेपालको जरुरत परेन र माधब नेपालबिरुद्ध ओलीका गतिबिधिलाई चुप लागेर हेरिरहे । तर समय बित्दै जादा ओलीले उक्त सहमति कार्यान्वयनमा कुनै चासो देखाएनन् । यसबाट झस्किएका प्रचण्ड पुनः माधब नेपालसँग नजिकिन खोजे पनि माधब नेपालले औपचारिकता मात्र पुरा गर्न थालेका छन् । यो कुरा नजिकबाट नियालीरहेका ओलीले परिस्थिति अनुकुल भएको ठानेका छन् र अब कार्यकारी अध्यक्ष नदिने पक्षमा छन् । त्यसो त त्यो सहमति प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने गरी भएकै थिएन । प्रचण्ड र नेपालबिचको एकता हुन नदिने रणनीति थियो, त्यो । यसैले ओली आफूले गरेको सहमतिमा वास्तै गर्न छोडे । यसबाट निरास बनेका प्रचण्डलाई त्यो सहमति कार्यान्वयनको लागि दबाब दिने अनुकुल अबस्था आएको ठानेर प्याकेजको कुरा उठाएका हुन । यतिबेला आफ्नो उपचारमा केन्द्रित हुन छिटोभन्दा छिटो मन्त्रीपरिषदको पुनर्गठन गर्नुपर्छ, ओलीलाई । यही बेला अड्को थाप्ने मनस्थितिमा छन् प्रचण्ड ।
स्रोतका अनुसार यही सोचका साथ प्रचण्डले कार्यकारी अध्यक्ष र सभामुखको विषय प्रवेश गराएका थिए । तर प्रधानमन्त्री ओलीले एकै पटक धेरै निर्णय गर्ने मनस्थितिमा नरहेको संकेत गरे ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा आलो पालो गर्ने सहमति भएको पनि थियो । सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर ओलीले पाँच वर्ष सरकार चलाउँदा मान्य हुने मत राख्दै आएका छन् । तर प्रधानमन्त्री ओली त्यसमा पनि सहमत देखिएका छैनन् । ओली निकट नेताहरुले पनि अहिले पनि ओली र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको तर्क गर्छन् ।
ओली निकट पूर्ब एमालेका नेताहरु कुनै हालतमा पनि प्रचण्डलाई कार्यकारी अध्यक्ष दिन नहुने भनेर ठूलो दबाब सिर्जना गरिरहेका छन् । प्रचण्डसँग माधब नेपाल र बामदेब गौतम पनि नजिकिन नसक्ने परिस्थिति बनेकाले अब ओलीले प्रचण्डलाई कुनै पनि हालतमा कार्यकारी अध्यक्ष नदिने पक्षमा रहेको नेकपाका एक सचिबालय सदस्य बताउँछन् ।