ई–आर्थिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले वित्तीय कारोबार गर्ने सहकारी संस्थाका लागि छुट्टै ऐन ल्याउने बताएकी छन् । बचत तथा ऋणको कारोबार गर्ने संस्थाको संख्या ठूलो भएको र वित्तीय कारोबार गर्ने संस्थाको अनुगमन प्रभावकारी हुनुपर्नेमा जोड दिँदै छुट्टै ऐन ल्याउने तयारीमा मन्त्रालय लागेको उनले बताएकी छन् । त्यसको तयारीमा मन्त्रालय लागेको पनि उनले जानकारी दिइन ।
रिलायबल बचत तथा ऋण सहकारी संस्थाको बिहीबार २१औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री अर्यालले सहकारीबाहेकका कतिपय कानुनले सहकारीलाई उत्पादनको क्षेत्रमा जोड्न समस्या आयो भन्ने गुनासोलाई सम्बोधन गर्दै सहकारीको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने तयारी पनि उनले बताइन् ।सहकारीहरूमा बेथिति आउन नदिनका लागि अनुगमन प्रभावकारी बनाउन मन्त्रालयले कार्य गरिरहेको उनको भनाई छ ।
सहकारी मन्त्रालय र अभियानबीचको सम्बन्ध घनिष्ट भएको चर्चा गर्दै उनले कार्यक्षेत्र मिल्ने संस्थाबीच एकीकरण गर्नेतर्फ सबैको अग्रसर हुन आग्रह गरिन ।
सभामा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईं, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरु, महासंघका पूर्वउपाध्यक्ष विजयराज घिमिरेलगायतले आफ्नो मन्तव्य व्यक्त गरेको थियो ।
यसैबीच राजधानीकर्मी रामसूदन तिमल्सिनालाई ‘केशव बडाल सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार तिमल्सिनालाई बिहीबार केशव बडाल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पद्मा अर्याल र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले तिमल्सिनालाई नगद १५ हजार पुरस्कारसहित सम्मान गरेका थिए । मल्लले बडालको नाममा अघिल्लो वर्षदेखि सो पुरस्कारका लागि अक्षय कोष निर्माण गरेकी थिइन ।