२०८३ साउन ११ सोमबार

‘गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण’

ई आर्थिक    बिहिबार, असोज ३० २०७६
15.1K
Shares
‘गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण’

ई–आर्थिक, असोज ३०, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजना, राष्ट्रिय सहकारी महासंघको समन्वय, नेफ्स्कूनको व्यवस्थापन तथा सहकार्यमा आयोजित अन्तराष्ट्रिय गरिबी निवारण दिवस र विश्व क्रेडिट यूनियन दिवसको अवसरमा बोल्दै सचिव गौतमले सो कुरा बताएका हुन ।

उनले आर्थिक असमानता न्यूनीकरण गरी गरिबीको रेखामुनि रहेको जनसंख्या वि.स. २०८७ सम्म ५ प्रतिशतमा र वि.स. २१०० सम्ममा शून्यमा झार्ने सरकारको लक्ष्यमा सबै सम्बद्ध निकाय र सहकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक हुने बताए ।
नेपालको कुल जनसंख्याको १८.७ प्रतिशत गरिबीको रेखामुनी रहेको जनसंख्यालाई नेपालको ३४,७६३ सहकारीमा आबद्ध ६५ लाख सदस्यहरुमार्फत सहकारीमा संंलग्न गराई उत्पादनशील क्रियाकलापमा जोडेर गरिबीको समस्या समाधान गर्न सकिनेमा सचिव गौतमले जोड दिए ।

सरकारले गरिबी निवारण नीति २०७६ ल्याएको र यहि श्रावण देखि कार्यान्वयनमा रहेको जानकारी गराउँदै पहिलो चरणमा ४९ जिल्लामा गरिब परिवार पहिचान कार्यक्रम शुरु गरेकोमा २६ जिल्लामा कार्यक्रम सम्पन्न भई ३ लाख ९१ हजार गरिब परिवार पहिचान भईसकेको र बाँकी २३ जिल्लामा पनि कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

‘गरिबी निवारणका लागि बालबालिका, उनीहरुका परिवार र समुदायलाई सशक्तीकरण गर्न सहकार्य गर्ने’ अन्तराष्ट्रिय गरिबी निवारण दिवसको नारा र अक्टोबर महिनाको तेस्रो विहिबार मनाइने अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवसको ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारा लिएर आज सहकारी मन्त्रालय, विभाग, राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले गरिबी निवारणको राष्ट्रिय लक्ष्य र वित्तीय सहकारी अभियानको मार्गदिशा सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।

सहकारी मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, गण्डकी प्रदेश सांसद एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइराला, नेफ्स्कूनका अध्यक्ष डी।बी। बस्नेत, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपक प्रसाद बास्कोटा, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहकारी अभियानमा रहेको महिला सहकारीकर्मीहरुको ठूलो हिस्सा मूलुकको गरिबी निवारणका लागि सहयोगी सिद्ध बन्नसक्ने बताइन । हामीमा रहेको गरिबीको चिन्तनलाई सकारात्मक परिवर्तनमा रुपान्तरित गर्दै सहकारी अभियानलाई देशव्यापी बनाउन सके समृद्ध मुलुक र सुखी नेपालीको सपना साकार पार्न सकिने उनको भनाई थियो ।

नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले अन्तराष्ट्रिय गरिबी निवारण दिवस र विश्व क्रेडिट यूनियन दिवस एकसाथ सहकार्यको भावनाले मनाउन र गरिबी निवारणका लागि नयाँ कार्यको शुरुवात हामीबाटै शुरु गर्नका लागि सबैमा आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपक प्रसाद बाँस्कोटाले विकसित राष्ट्रले कृषि प्रणालीमार्फत गरेको उच्च विकासको उदाहरण प्रस्तुत गर्दै नेपालको कृषि प्रणालीलाई पनि विकसित राष्ट्रको कृषि प्रणाली सरह रुपान्तरित र विकास गर्न सके गरिबी निवारणमा ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij