२०८३ साउन १० आइतबार

साल्ट ट्रेडिङको वर्तमान अवस्था र भावि योजना

ई आर्थिक    सोमबार, असोज २७ २०७६
10.9K
Shares
साल्ट ट्रेडिङको वर्तमान अवस्था र भावि योजना

साल्ट ट्रेडिङ कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि आफ्नो सेवा प्रारम्भ गरेको ५६ वर्ष पूरा भई ५७ बर्षमा प्रवेश गरेको छ ।
ईतिहासको यति लामो समयमा निरन्तर रूपमा कर्पोरेशनले आफ्नो उद्देश्य एवं प्रतिबद्धता अनुसार आमजनतालाई सुपथ एवं सहजरुपमा गुणस्तरीय उपभोग्य बस्तुहरुका साथै उपयोगी सेवाहरू उपलब्ध गराउँदै आएको सबैमा बिदितै छ ।

नेपाल सरकारले निर्धारण गरेको नीति नियमभित्र रही कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ र परिवर्तित राजनीतिक परिवेशमा सबै प्रदेशलाई लक्षित गरी आफ्नो कार्यक्षेत्र र सेवा विस्तार गर्दै समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई सघाउ पु¥याउँने नीति लिएको छ ।

नेपाल सरकारबाट जनतालाई प्रदान गरिने सेवालाई आम उपभोक्ताको पहुँचमा पुर्याउन कर्पोरेशन सदैव सक्रिय रही आएको छ र भविष्यमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु । नेपाल सरकारले कर्पोरेशनलाई रासायनिक मललगायत उपयोगी वस्तु आयात गरी बिक्री गर्न दिएको जिम्मेवारी कर्पोरेशनले सहजतापूर्वक सम्पन्न गर्दै आईरहको छ ।

देशको अर्थतन्त्रमा कृषिको महत्वपूर्ण भुमिका रहन्छ । देशलाई आर्थिक रूपमा सम्पन्न बनाउनको निम्ति उत्पादनमा बृद्धि गरी खाद्यान्न आयातलाई न्युनिकरण गर्दै लैजानु अपरिहार्य छ ।

यस सन्दर्भमा कर्पोरेशनले कृषि विकासमा योगदान पुर्याउने उद्देश्य अनुसार अनुदानित मलका अतिरिक्त आफ्नैतर्फबाट समेत गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको छ ।

यसबाट बिगत लामो समयदेखि कृषक दाजुभाई तथा दिदिबहिनीहरुले समयमा रासायनिक मल नपाउने समस्या निराकरण हुने विश्वास लिएका छौँ ।

बिराटनगरस्थित मोरङ सुगर मिल्स लि. मा कृषि औजारहरू खरिद गरी उखु खेतीलगायत अन्य खेतीमा आधुनिकीकरण गरिएको छ ।

माननीय मन्त्रीज्यूको निर्देशनले गर्दा मोरङ सुगर मिल्स लिमिटेडले गए सिजनको उखुको भुक्तानी समयमा नै केही रकम प्राप्त भएको र जुन विगत बर्षहरुमा कम्तीमा ३ वर्षसम्म भुक्तानी बाँकी रहने गरेको थियो यसप्रति माननीय मन्त्रीमा आभार व्यक्त गर्दछु ।

रासायनिक मलका अतिरिक्त गहुँको बीउ प्रशोधन गरी किसान समक्ष पुर्याएको छ । हेटौडामा बन्द अवस्थामा रहेको नेपाल बनस्पती घ्यू उद्योगमा स्थानीय किसानहरुबाट तोरी खरिद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

कृषि उत्पादन वृद्धि गरी खाद्य सुरक्षामा केही टेवा पुर्याउने उद्देश्यले जनशक्ति विकासको लागि कर्पोरेशनका कर्मचारी, रासायनिक मलका डिलर तथा किसानहरुलाई तालिम तथा अध्ययन भ्रमणको लागि थाईल्याण्ड, भारत तथा स्वदेशमा तालिम तथा अध्ययन भ्रमणमा पठाउनुको साथै विभिन्न स्थानमा कृषक स्तरमा तालिम समेत सञ्चालन गरिएको छ । यस प्रकारका कार्यक्रमलाई भविष्यमा अझ विस्तारित रुपमा सञ्चालन गर्ने नीति लिइएको छ ।

नेपाल भुकम्पीय जोखिमको देश भएको कारण कर्पोरेशन, पिनाकल एलजीजीएस युएसए र निजी व्यापारीहरुको संयुक्त लगानीमा फ्यूचर वक्र्स विल्डिङ्ग सोलुसन्स् प्रा.लि. मार्फत हेटौँडामा कारखाना स्थापना गरी एलजीएस प्रविधिबाट थानकोट महादेवस्थानमा प्रि–इन्जिनियरिङ्ग हाउस निर्माण थालनी गरी सकिएको छ र निकट भविष्यमा उपभोक्ताहरुमाझ ल्याउने लक्ष्य राखिएको छ ।

अहिले कर्पोरेशनको सेवा र कारोबारको क्षेत्र क्रमशः विस्तार हुँदै गएको छ । कर्पोरेशनले बिक्री वितरण गरेको गुणस्तरीय खाना पकाउने ग्यासको बिक्री निरन्तर वृद्धि हुँदै गएको छ । बिभिन्न कारण बजारमा गुणस्तरहीन खाद्य वस्तुहरु भित्रिने तथा अनियन्त्रित मूल्य बृद्धि जस्ता समस्याहरुको समाधानमा सार्वजनिक निजी सोझेदारीको रुपमा स्थापित कर्पोरन जस्ता संस्थाहरुको अपरिहार्यता र भूमिका अझ बढी हुने अनुभव हामीले गरेका छौँ ।

सन् १९८५र८६ को सर्वेअनुसार नेपालमा ४४.२ गलगाँड रोगी रहेकोमा सन् २००७ मा नेपाल सरकार तथा भारत सरकारको सहयोगमा नेशनल सर्बे एण्ड इम्प्याक्ट स्टडी फर आयोडिन डिफिसियन्सी डिसअर्डर्स–आईडीडी एण्ड एभाइलेवालिटी अफ लोडिजेस साल्ट इन नेपालको सर्वेक्षण रिर्पोट अनुसार ०.४ प्रतिशत झरेको पाइएको हो ।

सन् २०१६ को नेपाल सरकारबाट भएको नेपाल डेमोग्राफी हेल्थ सर्भे (एनडीएचएस) अनुसार ९४.५ प्रतिशत पाँच बर्ष मुनिका बालबालिकाले उचित मात्रामा आयोडिन भएको नूनको प्रयोग गरिरहेको देखाइएको छ ।
सन् २०१६ को नेपाल नेशनल माइक्रोन्यूट्रियन्ट स्टाटस सर्भे (एनएनएमएस) अनुसार सबै प्रकारका नूनहरुमा आयोडिन परीक्षण गर्दा ९०.७ प्रतिशत नूनमा उचित मात्रामा आयोडिनयुक्त नून घर परिवारमा उपभोग गरिरहेको देखाइएको छ ।

नेपाल युनिभर्सल साल्ट आयोनिजाइसनकोसदस्य राष्ट्र भएको हैसियतले सरकारले लिएको युएसआई लक्ष्य (९० प्रतिशत घरपरिवारले उचित मात्रामा आयोडिन भएको नूनको प्रयोग) हासिल गर्नका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले लिएको उद्देश्य प्राप्त भएको हुँदा सो निरन्तरता दिन आवश्यक रहेको छ ।

निकट भविष्यमा आउने दशैं, तिहार, नेपाल सम्वत र छठलाई दृष्टिगत गरी बिगत बर्षहरुमा झैँ यस बर्ष पनि नेपाल सरकारको निर्देशन अनुसार बिभिन्न स्थानमा कर्पोरेशनबाट बिक्री वितरण गरिने सामानहरुको स्टल राखी सहुलियत दरमा बिक्री वितरणको कार्य २०७६ भाद्र २३ गतेदेखि प्रारम्भ गरिएको छ साथै मोबाईल भ्यानबाट बिभिन्न स्थानमा दैनिक उपभोग्य बस्तुहरु बिक्री वितरण गरिनेछ ।
बार्षिकोत्सवको अवसरमा कर्पोरेशनले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ । यस बर्ष कर्पोरेशन नमो हारती बचत तथा ऋण सहकारी संस्था लि. रोटरी क्लब अफ काठमाडौं बेष्ट, एफ.एच.एफ हारिती ग्रुपको संयुक्त आयोजनामा रक्तदान एवं निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा करीब १६७ जना महानुभावहरुले रक्तदान गर्नु भएको हुँदा रक्तदान गर्ने रक्तदाताप्रति हार्दिक आधार व्यक्त गर्दछु । साथै विभिन्न चिकित्सक तथा स्वास्थ्य विशेषज्ञबाट करीब ७०० जनाले स्वास्थ्य परीक्षण गराउनु भएको हुँदा हामीले खुशीको अनुभव गरेका छौं र उक्त कार्यक्रम आयोजक, चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
त्यस्तै बालहितकारी पुरस्कारबाट पुरस्कृति हुने श्री गोसाईस्थान नैमिषरण्य क्षेत्र विकास समिति, बनेपा, काभ्रेपलाञ्चोकलाई हार्दिक बधाई ज्ञापन गर्दछु उक्त संस्थालाई ताम्रपत्र सहित रु. ७५ हजार नगद प्रदान गरिनेछ ।

साथै कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीमा एस.ई.ई. परीक्षमा उत्कृष्ट अंक ल्याई ‘साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रवृत्ति’ प्राप्त गर्ने अञ्चल कार्यालय बिरगञ्जका कर्मचारी अमोज लामिछानेका छोरा अभिषेक लामिछाने तथा ‘साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति’ प्राप्त गर्ने केन्द्रीय कार्यालयका कर्मचारी मेघराज ज्ञवालीकी छोरी सुश्री स्नेहा ज्ञवालीलाई बधाई ज्ञापन गर्दछु र भविष्यमा अझ सफलता मिलोस् भन्ने कामना गर्दछु र अभिभावकहरुमा पनि बधाई ज्ञापन गर्दछु ।

कर्पोरेशनको अधिकृतस्तर रही उल्लेखनीय काम गर्ने कर्मचारी जितेन्द्रकुमार साह तथा सहायक स्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी बिमल खनाल तथा स्तरबिहिन कर्मचारी बिष्णु के.सी. हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा बधाई ज्ञापन गर्दे उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

साथै कर्पोरेशनका सञ्चालक स्वर्गीय ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कार अधिकृत स्तरमा उमेश कुमार ओझा, सहायक स्तरमा सुदीपसिंह रायमाझी र

स्तरबिहिनमा संजय कर्माचार्य परस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । २० बर्ष सेवा अवधि पूरा गरी कदरपत्र पाउने कर्मचारीहरुको भविष्य अझ उज्वल होस् भन्ने कामना गर्दछु ।

कर्पोरेशनको समृद्धि कर्मचारीको प्रयासबाट हुने कुरा निश्चित छ । कर्मचारीको बृत्ति विकास तथा हकहितको विषयमा व्यवस्थापन सदैव संवेदनशील छ भने कर्मचारीहरुबाट प्राप्त सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छु । भविष्यमा पनि सम्पूर्ण कर्मचारीहरुबाट प्राप्त सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छु ।

(साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दिएको मन्तव्यमा आधारित)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij