२१.०५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित
ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा भएको उक्त साधारणसभाको अध्यक्षता बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले गरेका थिए ।
साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।
यस बैंकमा डिम्याट खाता हुने शेयरधनीहरुलाई नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र डिम्याट खाताको लागि बैंकको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध समेत गरेको छ ।
बैंकको हाल मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग रहेको बैंकले जानकारी दिएको छ ।