मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । बाफुखोलाका ८० प्रतिशत जमिनमा वर्षे आलुखेती गरिँदै आएको छ ।
कुनै बेला परिवारको गर्जो टार्न भारतका विभिन्न स्थानमा पुगेर पसिना बगाउँदै आएका बागचौर नगरपालिका–१२ बाफुखोलाकी कमला वलीले आलुखेती सुरु गरेपछि भारत नगएको बताइन् । ‘२० वर्षसम्म भारतका विभिन्न स्थानमा पुगेर पसिना बगायौं, त्यो छाडेर आलुखेती गरेपछि बर्सेनि तीनदेखि सात लाख रुपैयाँ बराबरका आलु बिक्री गर्दै आएका छौं,’ उनले भनिन् ।
परम्परागत अन्नबाली लगाउँदा खासै परिवारको आर्थिक अवस्था राम्रो नभएपछि व्यावसायिक रूपमा आलुखेती गर्न सुरु गरेको स्थानीय गणबहादुर वलीले बताए । ‘मेरो १५ रोपनी जग्गा छ, मकै, गहुँ लगाउँदा तीन महिनाभन्दा बढी खाना कहिल्यै पुगेन तर अहिले आलुखेतीबाट बर्सेनि ४ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छु,’ उनले भने ।
सडक पुगेपछि व्यापारी गाउँमै पुगेर आलु खरिद गर्न थालेपछि किसानमा उत्साहसमेत थपिएको स्थानीय दुर्गाबहादुर वलीले बताए । ‘पहिले आलु लगाउँदा सडक थिएन, आलु बिक्री गर्न धौधौ हुन्थ्यो तर अहिले आलु खरिद गर्न व्यापारी बारीमै आउँछन्, यसले किसानमा थप हौसला थपेको छ,’ उनले भने ।
गाउँमै आलुखेती गर्न थालेपछि भारत जानेको संख्या घटेको वडा नं १२ का वडाध्यक्ष दीपक वलीले जानकारी दिए । ‘तीन वर्षअघिसम्म यहाँका मानिस वैशाख–जेठमै सबै परिवार लिएर मजदुरीका लागि भारत जाने गर्थे, अहिले आलुखेतीमा लागेपछि भारत जानेको संख्या नगण्य मात्रामा रहेको छ,’ वडाध्यक्ष वलीले भने ।
यस वडामा आलु भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषक मर्कामा परेको वडाध्यक्ष वलीको भनाइ छ । ‘आलुको पकेट क्षेत्रका रूपमा घोषणा गरिए पनि आलुको भण्डारणगृहको अभाव रहेको छ, यसले गर्दा कृषकले भण्डारण नगरी बारीबाटै आलु बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।
यस वर्ष मात्रै करिब १२ हजार टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयले जनाएको छ । यस वडाको करिब दुई हजार रोपनीमा आलुखेती गरिएकामा छ हजार टन आलु निर्यात भएको तथा बाँकी बीउ र स्थानीय बजारमा बिक्री भएको सम्पर्क कार्यालयले जनाएको छ ।