२०८३ भाद्र २९ सोमबार

‘नारीलाई उद्यमी बनाउने सरकारको स्पष्ट नीति छैन, प्याकेजमै कार्यक्रम ल्याउनुपर्छ’

ई आर्थिक    सोमबार, असार ९ २०७६
15.1K
Shares
‘नारीलाई उद्यमी बनाउने सरकारको स्पष्ट नीति छैन, प्याकेजमै कार्यक्रम ल्याउनुपर्छ’

कृष्णकुमारी विष्ट राउत

व्युटिसियन/सञ्चालक

रियल हेभन व्युटिपार्लर एण्ड टे«निङ सेन्टर

उच्च शिक्षा अध्ययन गर्दै उद्यमी र समाजसेवी बन्ने लक्ष्यका साथ कृष्णकुमारी विष्ट राउत विगत दुई दशक अघि काठमाडौं छिर्नु भएको थियो । बैवाहिक जिवनपछि उच्चशिक्षा अध्ययनमा ब्रेक लागे पनि उद्यमी बन्ने लक्ष्यको सुरूवातमा भने उहाँ पुग्नु भएको छ । उहाँले अहिले सौन्दर्य, श्रृंगार र तालिम दिने संस्था रियल हेभन व्युटीपार्लर सञ्चालन गरिरहनुभएको छ । नारी प्रोत्साहित नीतिको अभाव र झन्झटिलो कर नीतिले नारीहरू व्यवसायमा अगाडी बढ्न नसकेका उहाँको भनाई छ । नारी उद्यमीका समस्या र उहाँको भविष्यका योजनाहरूको बारेमा गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

तपार्ईको परिचय बताइदिनोसन् ?
मेरो नाम कृष्णकुमारी विष्ट राउत हो । घर उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडियामा पर्छ । म हाल व्युटिसियन पेशामा आबद्ध छु । काठमाडौंको पुरानो बानेश्वर, कात्यानी आसपासमा रियल हेभन व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर नामको संस्था सञ्चालन गरेर बसेकी छु । यो संस्थाले नारी सौन्दर्य र श्रृंगारसँग सम्बन्धि सेवा र तालिम दिन्छ । साथै कस्मेटिक्सका सामान विक्री पनि गर्दछ ।

तपाईको पारिवारिक पृष्ठभूमि कस्तो रहेको छ ?
मेरो श्रीमान रोशन राउत विगत १८ बर्ष देखि आर्थिक पत्रकारिताको क्षेत्रमा कार्यरत हुनुहुन्छ । हाम्रो परिवारमा दुई छोरी र एक छोरा रहेका छन् । ठूली छोरी रूजा बेचलर अफ डेन्टल सर्जन (विडिएस) मा अध्ययनरत छिन् । सानो छोरी रिसु ९ कक्षामा अध्ययनरत गर्छिन् । त्यस्तै छोरा रिजन भने ३ कक्षामा अध्ययन गरिरहेको छ । हाम्रो परिवारको पहिलो पुस्ताको मूख्य पेशा कृषि र व्यापार थियो । यो सँगै राजनीति र सामाजिक क्षेत्रमा समेत हाम्रो परिवार सक्रिय रहेको छ । लामो समयदेखि समाजमा पु¥याएको योगदानका कारणले हाम्रो परिवारको समाजमा छुट्टै पहिचान छ ।

तपाईले गर्नुभएको पेशा र व्यवसायमा परिवारको साथ सहयोग कस्तो रहेको छ ?
कुनै पनि पेशा व्यवसायलाई निरन्तरता दिन परिवारको साथ सहयोग अपरिहार्य हुन्छ । मेरो यो पेशा र व्यवसायलाई परिवारको ठूलो साथ सहयोग रहेको छ । त्यसैले त विगत एक दशकदेखि यसै पेशामा निरन्तर लागिरहन सफल भएको हुँ ।

व्युटिसियन पेशामा आबद्ध हुनु भएको कति भयो ?
व्युटिसियन सम्बन्धि विभिन्न विधामा तालिम प्राप्त गरिसकेपछि मैले यो पेशामा १० बर्ष विताइसकेको छु । तालिम पश्चात मैले २ वटा व्युटिपार्लरमा व्युटिसियन सेवाका साथै लामो समय तालिम पनि दिएको छु । अनुभवले खारिएर पूर्ण दक्ष भएपछि केही समय अघिदेखि भने रियल हेभन व्युटीपार्लर सञ्चालन गरेको हुँ ।

तपाईको संस्थाबाट हालसम्म कति जनाले तालिम तथा सेवा लिइसक्नुभएको छ ?
मबाट व्युटिसियन सम्बन्धि तालिम र सेवा लिने नारीहरूको संख्या त ७ सय जति नाघि सक्यो होला । तर आफ्नै रियल हेभन संस्थाबाट भने २ सयको हाराहारीले सेवा लिनुभएको छ । त्यस्तै १ दर्जन जतिले तालिम पनि लिइसक्नुभएको छ । यो संस्था खोलेको ६ महिना मात्रै भएकाले सेवा लिने नारीहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

ग्राहकलाई आकर्षित गर्ने रियल हेभन व्युटिपार्लरको सेवा तथा विशेषताहरू के–के छन् ?
बास्तमा रियल हेभन व्युटिपार्लर ‘कष्टमर फ्रेन्डली’ व्युटिपार्लर हो । बजारका अन्य व्युटिपार्लरको तुलनामा हामी सस्तोमा गुणस्तरीय र भरपर्दो सेवा दिन्छौं । हामीले दिने सेवा र मूल्यलाई तुलना गर्दै आश्चर्य मान्ने ग्राहकहरू धेरै भेटिनु भयो । उहाँहरू अहिले हाम्रा नियमित ग्राहक बनिरहनुभएको छ । ‘क्वालिटी’ सँगै ‘क्वान्टिटी’मा जाने हाम्रो रणनीति भएकाले पनि अहिले विशेष छुटमै सेवा दिइरहेका छौं ।

कति प्रतिशतसम्म छुट दिनुभएको छ ?
हाम्रो संस्थामा अहिले तीन प्रकारको सेवा छ । जस्तै व्युटिसियन सेवा, तालिम र कस्मेटिक्स सामान विक्री आदी । पार्लर स्थापनाको पहिलो बर्षभर हामीले एउटा छुटको प्याकेज तयार पारेका छौं । सबै सेवामा घटीमा पनि २० प्रतिशत छुट रहेको छ । त्यस्तै तालिममा भने ५० प्रतिशत सम्म छुट दिएका छौं । पहिलो १० जना विपन्न, आर्थिक अवस्था कमजोर भएका नारीहरूलाई त ७० प्रतिशतसम्म छुटमा तालिम दिने व्यवस्था मिलाइएको छ । साथै कस्मेटिक्स सामान खरिदमा समेत आकर्षक छुट दिने गरेका छौं ।

व्युटिसियन कस्तो पेशा हो ?
नारी श्रृंगार र सौन्दर्यसँग सम्बन्धित सेवा दिने पेशा नै व्युटिसियन हो । नारी श्रृंगार र सौन्दर्यसँग जोडिएको यो पेशा शिप र प्राविधिक विषयमा पनि पर्दछ । स्वाथ्य र सौन्दर्य समेत जोडिएकाले यो पेशा त्यत्तिकै सम्वेदनशील पेशा पनि हो ।

तपाईको अध्ययन र अनुभवहरू के–के रहेका छन् ?
चिसापानी मा.वि. चिसापानी, खोटाङबाट एसएलसी उतिर्ण भएपछि म बाँकी अध्ययनको लागि काठमाडौं आए । मैले पशुपति बहुमुखि क्याम्पसबाट आई.ए. सम्मको मात्र शिक्षा लिन सफल भएँ । बैवाहिक जीवन पछि बच्चाहरूको पालन पोषणसँगै मेरो पढाईमा ‘ब्रेक’ लाग्यो । बाँकी शिक्षा लिने इच्छा हुँदा हुँदै पनि सफल हुन सकिन । अनुभवको हकमा व्युटिसियन पेशामा त मेरो एक दशक लामो अनुभव छ । त्यस्तै कम्प्युटर शिक्षामा पनि दक्ष र अनुभवी छु । त्यसैगरी रेडियो जर्नालिजम् (आरजे) को पनि तालिम लिएको छु । त्यसैगरी मैले सामाजिक क्षेत्रमा पनि केही काम गरेको छु ।

व्युटिसियन पेशालाई हेर्ने दृष्टिकोण कस्तो रहेको छ ?
हरेक पेशालाई हेर्ने दृष्टिकोण आ–आफ्नै हुन्छ । तर यो पेशा व्यवसायलाई हेर्ने समग्र दृष्टिकोण भने राम्रो रहेको मैले पाएको छु । सम्मानित र प्रतिष्ठित यो पेशा र व्यवसायलाई रोजगारी, सेवा र आर्थोपार्जनको दृष्टिकोणले समेत उत्तम मान्न सकिन्छ ।

देशभर कति व्युटिपार्लर व्यवसायहरू छन् ? तिनीहरूले कतिलाई रोजगारी दिएको होला ?
व्युटिपार्लर सम्बन्धि व्यवसायको एकिन तथ्यांक कही रहेको छ जस्तो मलाई लाग्दैन । तर सरदर ६० घर बराबर एउटा व्युटिपार्लर रहेको मेरो अनुमान छ । देशभरका यस्ता व्युटिपार्लरले हजारौं नारीहरूलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

विगतको तुलनामा व्युटिपार्लरको संख्या बढिरहेको छ । प्रतिस्पर्धाको अवस्था कस्तो छ ?
विगतको तुलनामा व्युटिपार्लरको संख्या निश्चितरूपमा बढिरहेको छ । अहिले विशेषगरी शहरी क्षेत्रका मूख्य लोकेशनमा सरदर ३० घर विराएर एउटा व्युटीपार्लर स्थापना भएका छन् । यसले अस्वस्थ प्रतिस्पर्धा बढाइरहेको छ । म स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता राख्ने व्युटिसियन हुँ । स्वस्थ प्रतिस्पर्धाले ग्राहकहरूले झन् प्रभावकारी सेवा पाउन सक्छन् । सेवाको गुणस्तर र छुटसहितका दररेटका कारणले पनि हाम्रा आफ्ना छुट्टै किसिमका नियमित ग्राहकहरू हुनुहुन्छ । हाम्रो सेवाबाट सन्तुष्ट ग्राहकहरू काठमाडौंको २०/३० किलोमिटर दुरिदेखि ललितपुर र भक्तपुरबाट समेत ट्याक्सी चढेर आउनुहुन्छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा नै छ भन्ने सुनिन्छ तर पनि यसको असर रियल हेभनमा परेको छैन ।

रियल हेभनले कस्ता ग्राहकलाई लक्षित सेवा प्रदान गर्दै आएको छ ?
रियल हेभनको सेवा विशेषगरी मध्ययम बर्गीय ग्राहक लक्षित छ । तर हाम्रो सेवाले शिक्षित र उच्च वर्गका नारीलाई पनि आकर्षण गर्न सफल भएको छ । हामीकहाँ सेवा लिन डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, उद्यमी र उच्च घरानाका गृहिणी समेत आइरहनुभएको छ । उहाँहरू उपस्थितिले हाम्रो संस्थाको गरिमा र प्रतिष्ठा अभैm बढिरहेको छ । तर सामान्य आम्दानी भएका र टिनएजका नारीहरू पनि हाम्रा नियमित ग्राहकहरू धेरै हुनुहुन्छ ।

व्युटीपार्लरले प्रयोग गर्ने कतिपय क्रिमजन्य बस्तुहरू छालाको स्वास्थ्यको लागि हानिकारक हुन्छ भनिन्छ नि !
हो, निश्चितरूपमा कुनै–कुनै केमिकलले छालालाई असर गर्ने खालको पनि हुन्छ । यस्ता कुराहरूमा व्युटिसियनहरूले नै ध्यान दिनु पर्छ । पैसा भन्दा पनि ग्राहकको स्वास्थ्य र सौन्दर्य र सन्तुष्टिमा हामी केन्द्रित हुनुपर्छ । त्यस्तो हानीकारक केमिकलयुक्त क्रिम हामीले भने कहिल्यै प्रयोग गर्दैनौं । बढी फाइदाको लोभमा अन्य व्युटिपार्लरले पनि यस्ता क्रिम प्रयोग नगर्न म सल्लाह दिन्छु ।

जिविकोपार्जन र आत्मनिर्भरको लागि यो पेशा कत्तिको सहयोगी रहेको छ ?
हरेक नारी आत्मनिर्भरको बाटोमा हिड्नु पर्छ । आत्मनिर्भर, पेशा र व्यवसायमा नहिड्नाले गर्दा पनि महिला हिंसा बढिरहेको मेरो बुझाई छ । ग्राहकको आवश्यकता र सन्तुष्टिलाई सम्बोधन हुने गरी सेवा दिने हो भने व्युटिसियन पेशा व्यवसायबाट एउटा परिवारको जिविकोपार्जनमा कठिनाई हुने म देख्दिन ।

नारीहरूले सञ्चालन गर्ने व्यवसायलाई राज्यले कत्तिको प्राथमिकता दिएको छ ?
नारीहरूद्वारा प्रबद्र्धित व्यवसायलाई टेवा पु¥याउन अथवा प्रोत्साहित गर्न राज्यले विना धितो सहुलियत ब्याजदरको कर्जा घोषणा गरेको छ । विना धितो सहुलियत ब्याज दरमा १५ लाखसम्म कर्जा दिने राज्यको यो घोषणालाई कार्यन्वयन गराउन बाणिज्य बैंकहरूले प्रयास गरिरहेका देखिन्छ । तर यो सेवा उपभोगको प्रक्रिया साह्रै झन्झटिलो र जटिल छन् । त्यसैले पनि यो सहुलियत कर्जा उपभोग गर्ने महिला उद्यमीको संख्या एकदमै न्यून भएको हुनसक्ने मेरो अनुमान छ ।

नारीहरूलाई व्यवसाय गर्न कत्तिको समस्या रहेको छ ? व्युटिपार्लर व्यवसायका समस्या के कस्ता छन् ?
नारीहरूलाई रोजगारी र आत्मनिर्भरको बाटोमा लैजाने राज्यको कुनै आकर्षक प्याकेज छैन । जसले गर्दा शिक्षित नारीहरूसमेत चुलो चौका र गृहिणीमा सिमित हुनु परेको छ । साना र व्युटिपार्लर जस्तो व्यवसायमा पनि अनिवार्य भ्याटमा जानुपर्ने सरकारी प्रावधानले पनि केही गरौं भन्ने भावनाका नारीहरूले समेत व्यवसायमा आट गर्न सकिरहेका छैनन् । यो प्रावधान अत्यन्तै समस्याको विषय हो । भ्याटमा गइसकेपछि १०/२० रूपैयाँको सेवाको विल पनि भ्याट विलमा काट्नु पर्छ । जसले गर्दा व्यवसायको खर्च बनाउनुको साथै व्यवस्थापनमा समेत जटिलता आइपर्छ ।

नेपालका नारीहरू तुलनात्मक रूपमा यही पेशामा बढी देखिन्छन् नि ?
क्षेत्रगतरूपमा हेर्ने हो भने सौन्दर्य र श्रृंगारसँग सम्बन्धित व्युटीपार्लर व्यवसायमा नारीहरूको आकर्षण बढेको छ । नारीहरूद्वारा नारीलाई नै सेवा प्रदान गर्ने भएकाले पनि अन्य पेशाको तुलनामा यो पेशा अलिक सहज छ । त्यसैले पनि यो पेशामा आकर्षण बढेको हुनसक्छ ।

अन्य पेशा व्यवसायमा नेपाली नारीको अवस्था कस्तो पाउनुहुन्छ ?
विगतको तुलनामा नेपाली नारीहरू अगाडि बढ्ने क्रम राम्रो छ । राष्ट्रपति लगायत नेपालका महत्वपूर्ण पदहरूमा पुगेका दर्जनौं नारीहरू यसका प्रत्यक्ष उदाहरण हुन । यो क्रमलाई अझै जारी राख्न हरेक नारीहरू आफ्नो योग्यता र क्षमता सदुपयोग गर्दै रोजगारी र आत्मनिर्भरताको बाढोमा हिड्न पर्छ । नेपाली नारीहरूको अहिलेको समग्र अवस्थामा केही सुधार हुँदै गइरहेको मैले पाएको छु ।

तपाईको भावि योजना के कस्ता रहेका छन् ?
उद्यमी पनि बन्ने र सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्य मेरो थियो । म यो लक्ष्यको सुरूवाती अवस्थामा छु । रियल हेभन व्युटीपार्लरको सेवालाई अझ ‘कष्टमर फ्रेन्डली’ र प्रभावकारी बनाउने मेरो महिलो प्राथमिकता रहनेछ । ‘योर ब्युटी ईज आवर ड्युटी’ स्लोगनका साथ स्थापना गरिएको रियल हेभनलाई यो क्षेत्रकै एउटा प्रतिष्ठित ब्राण्डको रूपमा स्थापित गर्ने योजनामा म छु । रियल हेभनको सेवालाई धेरै ग्राहकमाझ पु¥याउन शाखा विस्तार गर्दै कस्मेटिक्सको होलसेल पसल पनि सञ्चालन गर्ने भविष्यमा सोच बनाएको छु । त्यस्तै सामाजिक क्षेत्रमा पनि केही काम गर्ने सोच रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij