उसले भाका फेरेको यो दोस्रो पटक हो । बिहीबार बिहान ६ बजेदेखि नै सहकारीमा रकम फिर्ता लिन बचतकर्ताको भीड लागेको थियो । सहकारीमा रकमको जोहो हुन नसकेपछि २३ गतेदेखि मात्र बैकिङ कारोबार गर्ने सूचना जारी गरी बचतकर्तालाई फर्काइएको थियो । यसअघि १४ र १६ जेठमा एक लाख रुपैयाँसम्मका बचतकर्ताको आधा रकम फिर्ता गर्ने सञ्चालक समितिले बताएको थियो ।
सहकारीको ढोकामा लेखिएको ‘संस्थाबाट छानविन भइरहेको असुल उपर गर्नुपर्ने व्यक्तिमाथि कारवाही प्रक्रियासमेत सुरु भएको हुँदा २३ जेठदेखि बैंकिङ कारोबार सुचारु हुने’, सूचना पहरा दिन बसेको प्रहरीले पढ्दै फर्काएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीका रामराज पासी बाआमासहित सहकारीमा रकम फिर्ता लिन बिहान ६ बजे पुगेका थिए । उनको बुवा वलिराम पासीको नाममा चार लाख रुपैयाँ सहकारीमा जम्मा छ । मध्यान्ह साढे १२ बजेतिर भेटिएका पासीले निराश हुँदै भने, ‘दुई महिनापछि १८ वर्षकी बहिनी अञ्जलीको बिहे छ । घरमा पैसा छैन । बैंकमा आउँदा आजभोलि भनिरहेका छन् । कसरी बिहे गर्ने हो चिन्ता भइरहेको छ ।’
पासीको परिवार झैं ठूलो संख्यामा बचतकर्ताहरु सहकारीमा आएका थिए । सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले अहिले संस्थामा ६० लाख रुपैयाँ मात्र जम्मा भएकाले बचतकर्तालाई फिर्ता गर्न नसकिएको बताए । संस्थामा मौज्दात ४० लाख र अभियुक्त सूर्यबहादुर बिकले बिहीबार २१ लाख रुपैयाँ फिर्ता गरेको रकम मात्र छ । उनले भने, ‘हामी कम्तीमा पनि तीन करोड रुपैयाँ जम्मा गरेर बचतकर्तालाई १० प्रतिशतका दरले फिर्ता गर्ने तयारी गरिरहेका छौं । त्यसका लागि सन्चालकले ऋण खोजेर भए पनि पैसाको जोहो गरिरहेका छौं ।’
सहकारी संघको छानबिन सुरु
सहकारी वित्तीय विकास संस्थामा भएको झन्डै २६ करोड अपचलनबारे जिल्ला सहकारी संघले सात सदस्यीय समिति बनाएर छानबिन गरिरहेको छ ।
संघका प्रबन्ध सन्चालक नवराज उपाध्यायको संयोजकत्वमा संघका सदस्य गोपाल थापा, रामप्रसाद शर्मा, जिल्ला बचत संघका सचिव प्रेम शाह, प्रदेश ५ सहकारी प्रशिक्षण डिभिजन र बैंकिङ क्षेत्रका एक÷एक जना र सहकारी वित्तीय विकास संस्थाका प्रमुख प्रबन्धक गोपाल भण्डारी सदस्य सचिव रहेको सात सदस्यीय समिति बुधबार गठन गरी बिहीबारदेखि छानविन सुरु भइसकेको छ । समितिले सात दिनको भ्याद पाइको छ ।
अन्नपूर्ण पोष्टबाट