ई–आर्थिक, काठमाडौं । दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट अनिवार्य लगाउनुपर्ने भएको छ। काठमाडौँ उपत्यकामा लागू गरिएको यो व्यवस्थालाई विस्तारै प्रमुख शहरहरूमा पनि लागू गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो।
काठमाडौँमा हुने दुई पांग्रे सवारी साधनको दुर्घटनालाई मध्यनजर गरेर यो व्यवस्था ल्याउन लागिएको हो । हेल्मेट लगाएको चालक भन्दा पछाडी बस्ने व्यक्ति घाइते भएको र मृत्यु दर समेत पछाडी बस्नेको बढी भएकोले मोटरसाइकल/स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्त जानकारी दिए।
महाशाखाले यातायात व्यवस्था ऐनमा संसोधन गरि हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध पत्र पठाइसकिएको पनि जानकारी दिइएको छ ।
यस्तै महाशाखाले उपत्यकामा सवारी चाप ब्यबस्थित गर्दै कम गर्न मोबाइल थप प्रयोगमा ल्याउने भएको छ । पत्रकार सम्मेलनमा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक पन्तले जिआइएस प्रविधिमा आधारित यपले उपत्यकाको ट्राफिकजाम, बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताए।
यस्तै महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नु पर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नु नपर्ने नियम बनाईन लागेको बताएको छ। फिल्डमा खटिएको ट्राफिक प्रहरीले ई–चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले ई–पेमेन्ट गर्न सक्ने छ।