ई–आर्थिक, काठमाडौं । प्रभु बैंकले रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नं. १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा आफ्नो एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहका विच उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि बालकृष्ण थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराउनुहुँदै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बताए ।
बैंकको उक्त एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ भन्ने विश्वास बैंकले लिएको छ । त्यस्तै श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशिक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने बैंकका चिफ विजिनेश अफिसर मनिराम पोखरेलले बताए ।
