ई–आर्थिक, काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चीनको चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष लुपेङ्गक्वीसँग भेटवार्ता एवं छलफल गरेका छन् ।
दुई मुलुक बीच लगानी एवं उद्योग प्रवद्र्धनका बारेमा कुराकानी भएको परिसंघले जानकारी दिएको बेइजिङ्गमा चीनको निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाका उपाध्यक्ष लुपेङ्गक्वीले नेपालमा पर्यटन प्रवद्र्धन एवं कनेक्टीभीटीको लागि वुद्धिष्ट सर्किटको विशेषतः लुम्बिनी क्षेत्रको विकास अवधारणा साकार पार्न आफू र आफ्नो संस्था तयार रहेको र हरसम्भव कोसिस गर्ने बताए ।
साथै नेपाल चीन दुई छिमेकी मुलुक भए पनि नेपालले उल्लेख्य मात्रामा चीनमा निकासी अभिवृद्धि गर्न नसकेको सन्दर्भमा र चीनले दिएको भन्सार छुटको सूचीमा समेत पुनरावलोकन गरी व्यवहारिक बनाउनेमा जोड दिने बताए । उनले दुई मुलुक बीच व्यापार सहजीकरणको लागि आफू र आफ्नो संस्थाले “नेपाल चीन व्यापार फोरम”को माध्यमबाट सहजीकरण गर्ने र कनेक्टीभिटीको बारेमा समेत नेपालको उचित भनाई सम्बोधन भइ यसबाट नेपालले पूर्वाधारको क्षेत्रमा फाइदा लिने दृढता व्यक्त गरे ।

भेटको अवसरमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले हालै सम्पन्न “नेपाल लगानी सम्मेलन २०१९” र त्यसपूर्व चीनमा भएको पूर्व लगानी सम्मेलनमा सीसीपीआईटीले निभाएको महत्वपूर्ण एवं उल्लेखनीय भूमिकाको सह्राना गर्दै आगामी दिनमा नेपालमा चीनको लगानी वृद्धि हुने आशा व्यक्त गरे ।
लगानी र उद्योगसँग सम्बन्धित विदेशी लगानी ऐन, औद्योगिक व्यवसाय ऐन लगायत अन्य समसामयिक ऐनहरुमा समय सापेक्ष परिवर्तन भइ नेपाल लगानीको लागि उपयुक्त देश भएको सन्देश प्रवाह गरे । दुई मुलुक बीच व्यापार अभिवृद्धि गर्न गैर भन्सार अवरोध हटाउने लगायत मेला÷प्रदर्शनीको आयोजना जस्ता प्रवद्र्धनात्मक कार्य दुबै मुलुकमा बढी भन्दा बढी हुनु पर्नेर यसमा परिसंघ र सीसीपीआईटी बीच बढी सहकार्य हुनु पर्ने अध्यक्ष मोरले जोड दिए ।
साथै अध्यक्ष मोरले चीन भ्रमणको क्रममा सान्सी प्रान्तको समेत भ्रमण गरी द्विपक्षीय आर्थिक एवं व्यापारिक विषयमा उक्त प्रान्तका गभर्नरसँग भेट गरी छलफल गरेका थिए ।