२०८३ साउन १० आइतबार

सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

ई आर्थिक    सोमबार, बैशाख २ २०७६
8K
Shares
सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

ई–आर्थिक, काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबार र राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालयबीचको दूरी केही सय मिटर मात्रै छ।

विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले सिंहदरबार शाखाका रुपमा पद्ममोदय मोडबाट सेवा दिने गरेको थियो तर सिंहदबारभित्रै सरकारी स्वामित्वको बैंकको शाखा खोल्न लामो समय पर्खनुपयो। सङ्घीय संसद्मा पटक–पटक सिंहदरबारभित्र किन सरकारी स्वामित्वको बैंकका शाखा  खोलिएन भन्दै सरकारको ध्यानाकर्षण गराउनुपर्यो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारी स्वामित्वका बैंकका शाखा सिंहदबारभित्र नखोलिनुका कारण माग गर्दै अर्थमन्त्री डा युवराज खतिवडाको ध्यानाकर्षण गराए।

सांसद भीम रावलले पछिल्लो पटक २०७५ फागुन २९ गते प्रनिधिसभाको बैठकमा नेपाली बैंकलाई भित्र जाने अनुमति नदिइनुका कारण के हो? भन्दै प्रश्न गरेका थिए।

यस्तै सांसद विन्दा पाण्डेले पनि सङ्घीय संसद्बाट प्राप्त हुने सेवा सुविधा विदेशी बैंकको सट्टा स्वदेशी बैंकबाट भुक्तानी गर्ने व्यवस्था गर्न माग गरेका थिए। सांसद रेखा शर्मा र प्रेम सुवालले अर्थतन्त्रको मुख्य मानिने बैंकमा विदेशी संलग्नताले सबै सूचना विदेशीको कब्जामा जाने खतरा रहेको औँल्याउँदै तत्काल सरकारी स्वामित्वको बैंकको शाखा खोल्न माग गरेका थिए।

संसद्को अर्थ समितिको बैठकमा समेत सांसदले पटकपटक सो विषयलाई उठाएका थिए। तर निर्णय हुन भने लामो समय लागेको थियो। विसं २०६२/६३ को जनआन्दोलनको सफलतालगत्तै निजी क्षेत्रको एभरेष्ट बैंकले सिंहदबारमा शाखा खोली सेवा दिन थालेको थियो।

सांसदले प्रमुख प्रशासनिक केन्द्रमा विदेशी साझेदारी भएको बैंकको शाखा खोल्न किन दिइएको र सरकारी स्वामित्वको बैंकलाई सरकारको प्रमुख निकायमा किन बेवास्था गरेको भन्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले गत फागुन २९ गते भनेका थिए।

सरकारले सिंहदरबारभित्र सरकारी बैंकको शाखा खेल्न अनुमति दिइसकेको छ। राष्ट्रिय वाणिज्य बैंकले प्रक्रिया अगाडि बढाइसकेको छ।
नेपाली बैंकलाई अनुमति नदिने नीति नरहेको पनि उनको भनाइ थियो । भौतिक संरचना व्यवस्थापन र सबैलाई सुलभ हुने ठाउँमा एटिएम राख्नका प्रयास भइरहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो।

गरे के हुँदो रहेनछ भने जस्तै भएको छ, सङ्घीय संसद्मा अर्थमन्त्री डा खतिवडाले जवाफ दिएको एक महीनापछि आज सिंहदबार परिसरमा रहेको ‘सर्भिस सेन्टरमा’ २१८औँ शाखाका रुपमा वाणिज्य बैंकले शाखा विस्तार गरेको छ।

नयाँ वर्षको पहिलो दिनदेखि नै वाणिज्य बैंकको शाखा खोलिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले  आज बैंकको शाखा उद्घाटन गरे।

सचिव गुरुङले भने, ‘ठूलो मेहनतपछि सिंहदरबार परिसरमा वाणिज्य बैंकको शाखा स्थापना भएको छ। सिंहदरबारभित्र कसरी गुणस्तरीय र प्रभावकारी सेवा दिने भन्ने चुनौती र अवसर दुईवटै छ। त्यसलाई बैंकले आफ्नो क्षमता प्रदर्शन गरेर अब्बल सावित हुने मैले विश्वास लिएको छु।’

बैंकको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेपछि नै सचिव गुरुङलाई पनि वाणिज्य बैंकको शाखा किन यहाँ नखोल्ने भन्ने लागेको रहेछ। सचिव गुरुङले उद्घाटन समारोहमा मलाई पनि बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यले पनि पटकपटक ध्यानाकर्षण गराए।

‘आज त्यो अपेक्षा र चाहना पूरा भएको छ। हामी सबैका लागि यो खुशीको दिन हो।’ सरकारले आजदेखि शुरु गरेको सबै नेपालीका लागि बैंक खाता अभियानमा समेत वाणिज्य बैंकले नै नेतृत्व गरेको छ। आज मात्रै राष्ट्रियसभागृहमा मात्रै ७५० नयाँ खाता खोलिएको छ।

सचिव गुरुङले सेवाग्राहीलाई सरल र सहजरुपमा स्मार्ट बैकिङ सेवा दिनसमेत आग्रह गरे। ‘केही समय पहिलेसम्म बैंकमा जनशक्ति छैन, सिंहदरबारभित्र सेवा दिन पाइएन भन्ने गुनासो हुन्थ्यो, अब ती गुनासो हल भएका छन्। अब वाणिज्य बैंक खरो प्रतिस्पर्धामा उत्रनु पर्छ, अध्यक्ष गुरुङले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सिंहदबारभित्र २१८औँ शाखाका रुपमा सञ्चालनमा ल्याउन पाउँदा गौरवान्वित भएको बताए। मुलुकभरका ७७ वटै जिल्लामा पुग्ने र एक खर्ब ७७ अर्ब निक्षेप भएको पहिलो बैंकका रुपमा वाणिज्य बैंक स्थापित भएको उनको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij