२०८३ साउन १० आइतबार

अझै किचलोमै कांग्रेस, केकेमा छ किचलो ?

ई आर्थिक    बुधबार, चैत्र २७ २०७५
4.6K
Shares
अझै किचलोमै कांग्रेस, केकेमा छ किचलो ?

महेश्वर गौतम, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेका नेपाली कांग्रेस आफ्नै आन्तरिक झगडाका कारण झनै किचलोमा फस्दै गएको छ । पटकपटक सत्ता र प्रतिपक्षमा रहँदाको अनुभव संगालेको कांग्रेसले आन्तरिक किचलोकै कारण सशक्त प्रतिपक्षको भूमिकामा आफूलाई उभ्याउन सकेको छैन ।

पछिल्लो समय कांग्रेसमा महासमिति बैठकको म्यान्डेडविपरीत केन्द्रीय समिति बैठकले विधानको विषयमा बहुमतले निर्णय लिएपछि कांग्रेसभित्रको किचलो झनै झाँगिएको हो । सो विषय अहिले आएर पार्टीको कार्यसम्पादन समिति गठनको विषयसम्म आइपुग्दा झनै झाँगिन पुगेको छ । यस्तै, नेपाल विद्यार्थी संघको नेतृत्वले राजीनामा दिएपछि कांग्रेसले गुट किचलोकै कारण एक महिना बित्दासमेत नेविसंघलाई नेतृत्वविहीन बनाएको छ ।

नेता अर्जुननरसिंह केसीले पार्टीमा बढ्दो किचलोलाई निश्चित दिशा दिन जरुरी रहेको बताए । उनले निष्पक्ष, पारदर्शी, तथा विधानसंगत रूपमा पार्टीलाई बढ्दो किचलोबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

‘पार्टीमा दिन प्रतिदिन किचलो बढ्दै छ, हरेक विषयलाई सहमतिका साथ टुंग्याउनुपर्छ, त्यसका लागि निष्पक्षता, पारदर्शिता र विधिसंगत रूपमा पार्टीलाई सञ्चालन गर्नुपर्छ, अनि मात्र कम्युनिस्टसँग पनि लड्न सकिन्छ’, नेता केसीले राजधानीसँग भने ।

यस्तै, महासमिति बैठकको एजेन्डालाई लिएर जिल्ला सभापतिसमेत गुटगत आधारमा नै विभाजित हुन थालेका छन् । सोही आधारमा केही दिनअघि राजधानीमा संस्थापनइतरका जिल्ला सभापतिले महासमिति बैठकको म्यान्डेड र आफूहरूसँगको सहमतिविपरीत विधानमाथि बहुमतले निर्णय गरेको भन्दै विशेष महाधिवेशनसम्मको धम्की पार्टी नेतृत्वलाई दिइसकेका छन् ।

यसैगरी, पार्टीमा कार्यसम्पादन समितिको विषयले समेत कार्यकर्ता तहमा निराशा बढाएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समितिमा रहने नेताहरूको भागबन्डाको विषयमा कुरा नमिल्दा पार्टीको केन्द्रीय समिति बैठक नै स्थगित हुन पुगेको छ ।

सभापति देउवाले गत शुक्रबार आफ्नो बूढानीलकण्ठस्थित निवासमा बोलाएको शीर्ष नेताहरूको बैठकमा सो समितिको विषयलाई लिएर देउवा र वरिष्ठ नेता पौडेलबीच ६०/४० प्रतिशतको अडानका कारण केन्द्रीय समिति बैठक नै स्थगित भएको थियो ।

सो बैठकमा १३आंै महाधिवेशनपछि कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गराएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई व्यवस्थापन गर्ने विषयमा वरिष्ठ नेता पौडेलले आफ्नो भागमा नपार्न सभापतिलाई भनेपछि बैठक अन्योलमा परेको हो ।

सो बैठकमा पौडेलले सिटौलालाई आफ्नो भागमा नसमेट्ने बताएपछि सिटौला बैठकबाटै बाहिरिएका थिए । यस्तै, देउवाले सोमबार बोलाएको बैठकमा समेत सिटौला सहभागी भएनन् । उनले पार्टीलाई भागबन्डाबाट चलाउँदा झनै कमजोर हुने भन्दै भागबन्डाबाट पार्टी नचल्ने बताउँदै आएका छन् । यही विवादका कारण केन्द्रीय समिति कहिले बस्ने टुंगो लागेको छैन । तर, सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले भने कार्यसम्पादन समितिको विवाद मिलेको बताए ।

‘कार्यसम्पादन समितिको विवाद मिलिसकेको छ, केही दिनमा नै केन्द्रीय समिति बैठक बसेर समिति गठन हुन्छ’, श्रेष्ठले भने ।

विधानमाथि थरीथरी बहस
केन्द्रीय नेता वडा तहबाटै निर्वाचित हुनुपर्ने जिल्ला सभापतिको अडान
कार्यसम्पादन समिति गठन अन्योल
नेविसंघ नेतृत्वविहीन
अन्य भ्रातृसंगठनसमेत विघटनको संघारमा

पेलेर पार्टी चल्दैन : सिटौला

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई सही ठाउँमा राख्न नसक्ने नेतृत्वले दुई तिहाइको सत्तासँग लड्न नसक्ने दाबी गरेका छन् । उनले पार्टीको अन्तरिक समस्या केही नेतालाई पेलेर समाधान गर्छु भन्ने पार्टी नेतृत्वको सोच रहेको भन्दै त्यसरी पार्टी नचल्ने बताएका हुन् ।

मंगलबार कांग्रेस क्षेत्र नम्बर ६ काठमाडौंले राजधानीमा आयोजना गरेको जनआन्दोलन दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पार्टी नेतृत्वको मनपरी तन्त्रका कारण पार्टीको स्ट्रेन्थ पोखिने अवस्थामा पुगेको बताए ।

‘पार्टी नेतृत्वले सत्ताको मनोमानीसँग लड्नुपर्ने अवस्था छ तर नेतृत्वले आफ्नै पार्टीलाई सही ठाउँमा राख्न सकेन भने कम्युनिस्ट सत्तासँग कसरी लड्न सक्ला ?,’ सिटौलाले भने, ‘आफ्नालाई पेलेर बलियो हुन्छु भन्ने भ्रमबाट मुक्त हुन म पार्टी नेतृत्वलाई आग्रह गर्छु, पेलेर पार्टी चल्दैन, पार्टीको स्ट्रेन्थ पोखियो भने उठाउन सकिँदैन ।’

उनले महासमिति बैठकभन्दा केन्द्रीय समिति बैठक ठूलो हुने अवस्था पार्टीभित्र देखापरेको समेत बताए । महासमिति बैठकको समापनमा महासमिति सदस्य र जिल्ला सभापतिसँग गरिएको सहमतिविपरीत केन्द्रीय समिति बैठकबाट विधानका विषयमा बहुमतका आधारमा निर्णय लिइनु समेत गलत भएको उनको तर्क छ । उनले भारी बोक्नेले खुट्टा दह्रो बनाउनसमेत सिक्नुपर्ने भन्दै पार्टी नेतृत्वलाई सुझावसमेत दिए ।

यस्तै, कार्यसम्पादन समिति गठनका विषयमा भएका बैठकहरूमा आफू सहभागी नभएको समेत उनले बताए । ‘मिडियामा आएका समाचारहरू ठीक हुन्, म भागबन्डाको साक्षी बस्न गइनँ, भागबन्डाबाट पार्टी चल्दैन, म भागबन्डाको पक्षमा छैन, भागबन्डा अन्त्य हुनुपर्छ’ उनले थपे ।

सिटौलाले सभापति र वरिष्ठ नेता कसैको भागमा समेत नबस्ने भन्दै आफू सिंगो कांग्रेसको भागमा रहने जनाए । उनले पार्टीभित्र आफ्नो छुट्टै विचार भएको समेत बताए । सिटौलाले पार्टी नेतृत्वले विगतमा भएका कमीकमजोरी स्वीकार गरे आफू सहयोग गर्न तयार रहेको भने स्पष्ट पारे ।

‘सभापतिज्यू पार्टी कब्जा गर्नु ठूलो कुरा होइन, कम्युनिस्टको कब्जाबाट देशलाई निकाल्नु ठूलो कुरा हो । विगतमा भएका गल्तीलाई क्षमायाचना गरे म खुला दिलले सहयोग गर्छु, म पनि गल्ती स्वीकार्न तयार छु,’ नेता सिटौलाले भने ।

२०६४ सालमा निर्वाचन हार्दा त्यसको ६ महिना बित्न नपाउँदै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो स्वास्थ्यको ख्याल नगरी देउवा र पौडेललाई एक ठाउँमा ल्याएर पूर्वपश्चिम जागरण अभियान चलाएको समेत स्मरण गरे । पार्टीमा एकता हुनका लागि नीति, सिद्धान्त र हामी एउटै हौं भन्ने भावना हुनुपर्ने भन्दै सिटौलाले अहिलेको नेतृत्वमा त्यो भावना आउन नसकेको जनाए ।

‘निर्वाचनमा कतै राजावादीलाई भोट हाल्न लगायौं, कतै हँसिया हतौंडामा त कहीँ महन्थ ठाकुर, बाबुरामजीलाई जितायौं, आफ्नो सिद्धान्त बिर्सेर कार्यकर्तालाई नै बिचलित बनायौं । यसरी कसरी पार्टी बलियो हुन्छ ?’ सिटौलाले प्रश्न गरे ।

उनले सैद्धान्तिक विचलनका कारण यस्तो घटना भएको समेत जिकिर गरेका छन् । काठमाडौ क्षेत्र नम्बर ६ का सांसदसमेत रहेका पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पार्टीमा देखिएको द्वन्द्व पार्टीका लागि विषबराबर भएको बताए । उनले वर्तमान प्रधानमन्त्री आफूमा अधिकार थोपरेर संविधानलाई कमजोर बनाउने खेलमा लागेको समेत बताए ।

‘प्रधानमन्त्रीले एकपछि अर्को गर्दै सबै क्षेत्रलाई आफ्नो अन्डरमा राख्न अनेक चालबाजी गर्दै छन् । यो संविधानलाई कमजोर बनाएर आफू बलियो बन्ने दाउ हो’, प्रधानले भने ।

कार्यक्रममा कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले जिल्ला तहका नेतृत्वलाई केन्द्रीय नेतृत्वले विश्वास गर्ने स्थिति नहुँदासम्म पार्टी बलियो नहुने भन्दै जिल्ला तहका नेताले दिएको सुझाव केन्द्रले मान्नुपर्ने बताए ।

कार्यक्रममा नेकपासहित विभिन्न दलका ३९ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेता सिटौलाले माला लगाएर तथा क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले पार्टी सदस्यता दिँदै पार्टी प्रवेश गराएका थिए ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij