नवीन नेपाली, नारायणपुर, १० फागुन : दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गर्नुभएका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आउनुभएका सांसद वलीको शुक्रबार बिहान काठमाडौँमा उपचारकै क्रममा निधन भएपछि पश्चिम दाङ दुःखित छ ।
विद्यार्थी कालदेखि राजनीतिक यात्रा शुरु गर्नुभएका वली पूर्णकालीन रुपमा राजनीति मै होमिनुभएपछि पश्चिम दाङमा विकासले मुहार फेर्न थालेको स्थानीयवासी बताउँछन् । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पश्चिम दाङले वर्षौंपछि प्राप्त गरेको विकासप्रेमी नेता गुमाउनु परेको प्रतिक्रिया दिनुभयो । “जतिबेलादेखि सांसद वलीले केन्द्रीय राजनीतिमा पहुँच राख्न शुरु गर्नुभयो, त्यो समयदेखि पश्चिम दाङले विकासको महसुस गर्न पाएको हो,” गाउँपालिका अध्यक्ष पौडेलले भन्नुभयो – “जनतालाई खुशी बनाएर आफू खुशी हुने नेता हुनुहुन्छ उहाँ ।”
दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सांसद वलीले चालु आर्थिक वर्षका लागि मात्रै पश्चिम दाङमा करोडौँ बजेट तथा कार्यक्रमहरु भित्र्याउनु भएको थियो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले चालु आवमा आफ्नो गाउँपालिकाका लागि मात्रै ७ करोडको बजेट प्रदेश सरकारबाट विनियोजन भएको बताउनुभयो । दंगीशरण गाउँपालिका सांसदको वलीको गृह गाउँपालिका पनि हो । “यो क्षेत्रले अहिलेसम्म राजनीतिक नेतृत्व पाउन सकेको थिएन, उत्तरकुमारको उदय हुने बित्तिकै विकासको कार्यक्रमहरु शुरु भएका हुन्,” अध्यक्ष चौधरीले भन्नुभयो – “हाम्रो गाउँपालिकामा मात्रै ७ करोड भन्दा बढीको बजेट उहाँकै पहलमा विनियोजन भएको छ ।”
विकासको पहिलो पूर्वाधारको रुपमा सडक र शिक्षालाई प्राथमिकता दिँदै बजेट तथा कार्यक्रमहरु निर्माण गर्नुभएका सांसद वलीको पहलमा पश्चिम दाङमा सिँचाइ सुविधाका लागि कुलो, नहर र बाँध निर्माणका कार्यक्रमहरु शुरु भएका छन् । सामुदायिक विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माण, युवाका लागि खेलकूद मैदानको निर्माण, पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका योजनाहरु सांसद वलीकै नेतृत्वमा सञ्चालन भएको बबई गाउँपालिकाका अध्यक्ष पौडेल स्मरण गर्नुहुन्छ ।
वलीको निधनपछि पश्चिम दाङले एक सबल नेतृत्व गुमाएको बताउँदै अध्यक्ष पौडेलले भन्नुभयो – “यो वर्ष बबई गाउँपालिकामा मात्रै ३ करोडको बजेट उहाँकै पहलमा विनियोजन भयो । त्यो बजेटमा नयाँ सडकको ट्र्याक निर्माण, स्तरोन्नति र विद्यालयहरुको भौतिक पूर्वाधारमा सुधार गर्ने योजनाहरु छन् ।”
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सांसद वली जस्ता राजनीतिक विचारले दृढ र विकासमा नेतृत्व दिनसक्ने अर्को नेता दाङले पाउन धेरै वर्ष कुर्नुपर्ने बताउनुभयो । कक्षा ८ देखि वलीसँग मित्रवत् सम्बन्धमा रहेर काम गर्दैआएको बताउनुहुने सांसद चौधरीले पश्चिम दाङको आर्थिक विकासका लागि धेरै योजनाहरु लिएर वलीले राजनीति गर्नुभएको सम्झनुहुन्छ ।
को हुन् सांसद उत्तरकुमार ?
दंगीशरण गाउँपालिका वडा न. ६ लेटारका सांसद वलीको जन्म साल २०४१ हो । विद्यार्थी जीवनमै गाउँको विद्यालय अखिलको प्रारम्भिक कमिटीमा बसेर विद्यार्थीहरुको नेतृत्व गर्नुभएको वलीले जिल्ला कमिटीबाट तत्कालीन निर्वाचन क्षेत्र नं ४ को इञ्चार्ज भएर काम गर्नुभएको थियो ।
आइएस्सी अध्ययनका लागि नेपालगञ्जस्थित बहुमुखी क्याम्पसबाट समेत वलीले राजनीतिक गतिविधिहरु गर्नुभएको थियो । बिएस्सी अध्ययनका लागि काठमाडौँको अमृत साइन्स क्याम्पसबाट विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको सांसद चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “सबैका प्रिय विद्यार्थी नेताको रुपमा उहाँले शैक्षिक विषयहरुमा बहस चलाउनुहुन्थ्यो । उहाँ विद्यार्थीे आन्दोलनलाई नेतृत्व गरेर सफल बनाउने नेता हुनुहुन्थ्यो ।”
सांसद वली तत्कालीन निर्वाचन क्षेत्र नं ५ बाट २०६४ मा र सविधानसभाको २०७० सालको निर्वाचनमा पनि उम्मेदवार हुनुभएको थियो । दुई निर्वाचनमा पराजित भए पनि प्रदेश सभाको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारीलाई पछि पार्दै विजयी हुनुभएको हो । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले भन्नुभयो – “निर्वाचन हारे पनि जनतामाझ पुगेर विकास निर्माणका बारेमा छलफल गर्ने, योजनाका लागि पहल गरिरहने र समस्या भए व्यक्तिगत लगानीमा विकासका लागि स्थानीयवासीलाई सहयोग गर्ने व्यवहारका कारण वली सबैको प्रिय बन्नु भएको थियो ।”
माघ २४ गते बेलुका बुटवलस्थित अस्थायी राजधानीबाट बैठकपछि दाङस्थित घरतर्फ आउँदै गर्नुभएका सांसद वली लमही घोराही सडक खण्डमा दुर्घटनामा पर्नुभएको थियो ।
घोराहीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं को यात्रुवाहक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नं को सांसद वली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा–३ चिसापानी नजीकै ठक्कर दिएको थियो ।
सांसद वली आफैंले कार चलाउनु भएको थियो । दुर्घटना लगत्तै वलीलाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म अचेत अवस्थामा रहनुभएका सांसद वलीको शुक्रबार बिहान निधन भएको हो । सांसद वलीका श्रीमती र दुई छोरा छन् ।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो । नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपङ्क्तिप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वर्गीय वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनु भएको थियो । विसं २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन नेकपा (एमाले)तर्फबाट वली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
केही दिनअघि सवारी दुर्घटनामा परी घाइते हुनुभएका प्रदेश सांसद वलीको ३७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । वलीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका सचिवालय सदस्य बामदेव गौतम, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
तुलसीपुर उपहानगरपालिकाका ३ ख अन्तर्गतका वडा कार्यालय बन्द
पाँच नं प्रदेश अन्तर्गत दाङ क्षेत्र नं ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले आज ३ ख अन्तर्गतका वडा कार्यालय बन्द गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार उक्त क्षेत्रमा पर्ने १, २, १० र ११ नं वडा कार्यालय आज एक दिन बन्द गर्नाका साथै १३ दिनसम्म वडा कार्यालयमा शोक पुस्तिका राख्नका लागि निर्देशन पनि दिइएको छ ।
दुर्घटनामा पर्नुभएका सांसद ओलीको उपचारका क्रममा आज बिहान १ बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
स्व वलीको स्मरणमा प्रदेश सचिवालय बन्द
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।
प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वलीको निधनले समाज र प्रदेशसभामा अपूरणीय क्षति पुगेको छ”, सभामुख घर्तीले वलीको निधनमा श्रद्धाञ्जलि प्रकट गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा आज एक दिन प्रदेशसभा सचिवालय बन्द रहने पनि बताइएको छ ।
सडक दुर्घटनामा परी घाइते हुनुभएका वलीको गएराति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको हो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किंदा उहाँ दाङको चिसापानीमा दुर्घटनामा परी घाइते हुनुभएको थियो