२०८३ साउन ११ सोमबार

डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग, डा. केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

ई आर्थिक    बिहिबार, माघ ३ २०७५
4.4K
Shares
डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग, डा. केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

काठमाडौँ, ३ माघ : नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गर्नुभएको छ ।

सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने थापाले बताउनुभयो । शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसद्मा विधेयकमाथि आफूले फरक मत राख्ने ठाउँ जीवितै रहेको बताउँदै नेता थापाले आज यहाँ पत्रकार सम्मेलन गरी भन्नुभयो, “सरकारले चाहेमा सदनको प्रक्रियालाई पूर्ण सम्मान गर्दै डा केसीको सम्झौतालाई विधेयकमा समेट्ने ठाँउ बांँकी नै छ ।”

सम्झौताअनुसारको विधेयक बनेमा चिकित्सा शिक्षाका क्षेत्रमा सुधारको नयाँ यात्रा प्रारम्भ हुने नेता थापाको भनाइ थियो । डा केसीले अनशन नबसेको भए देशको स्वास्थ्य र शिक्षा क्षेत्र अस्तव्यस्त हुने दाबी गर्दै नेता थापाले नेपालमा ठूलो दुर्घटना र चलखेल हुनबाट डा केसीले जोगाएको जिकिर गर्नुभयो । मापदण्ड विना पहँुचका आधारमा मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया उहाँकै कारण रोकिएको नेता थापाको दाबी थियो ।

थापाले ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरी’ भन्ने शब्दावली प्रस्तावनामा नै राख्नुपर्ने माग गर्नुभयो ।

सरकारले सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै अहिले डा गोविन्द केसी १६औँ अनशनमा बस्नुभएको छ ।

डा. केसीलाई सघन उपचार कक्षमा राख्न सुझाव

इलाम : धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा यहाँ आएको विशेषज्ञ टोलीले डा केसीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएको छ । नौ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीलाई विभिन्न रोगले च्याप्दै गरेको भन्दै अस्पतालमा सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) को व्यवस्था गर्न सुझाव दिएको छ ।

उपचारमा आएको टोलीका प्रमुख तथा प्रतिष्ठानका सह निर्देशक डा विकास शाहले डा केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म रहेको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डा केसीको शरीरमा ग्लुकोजको मात्रा पटकपटक कम भएर ५० भन्दा तल पुगेको छ भने डा केसीले ग्लुकोज लिन अस्वीकार गर्नुभएको छ ।” धरानबाट बुधबार ६ विशेषज्ञको टोली डा केसीको स्वास्थ्य परीक्षणका लागि इलाम आएको थियो ।

टोलीमा डा साहसहित मुटुरोग विशेषज्ञ डा प्रशान्त शाह, जनरल फिजिसियन डा अजय यादव, एनेस्थेसियोलोजी तथा सघन उपचार कक्ष विशेषज्ञ डा सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र यादव र स्टाफ नर्स रचना राणाको सहभागिता थियो । शिक्षा तथा स्वास्थ्य समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग राख्दै डा केसी २५ पुस देखि यहाँ अनशनमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij