दाङ, २७ मङ्सिर : चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
सो दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । बेहुला बेहुली भने अर्को गाडीमा रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
उर्लाबारी, २७ मङ्सिर : मोरङको ग्रामथान गाउँपालिका–६ स्थित मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ५६४० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते चालक सुनसरी इटहरी उपमहानगरपालिका–११ का २२ वर्षीय अक्षय तबदारको विराटनगरस्थित न्यूरो अस्पताल मा उपचारका क्रममा मध्यराति मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइते भएका र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।