२०८३ साउन ११ सोमबार

सर्वोच्च अदालतमा १० वर्षको अन्तरालमा तीन गुणा बढी मुद्दा फछ्र्यौट

ई आर्थिक    बिहिबार, मंसिर २७ २०७५
2.6K
Shares
सर्वोच्च अदालतमा १० वर्षको अन्तरालमा तीन गुणा बढी मुद्दा फछ्र्यौट

काठमाडौँ : सर्वोच्च अदालतमा १० वर्षको अन्तरालमा तीन गुणा बढी मुद्दा फछ्र्यौट हुने गरेको पाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतले पेश गरेको वार्षिक प्रतिवेदनमा २०६५ सालमा ५५ हजार ५५६ मुद्दा फछ्र्यौट गर्नेमा अहिले आएर त्यो सङ्ख्या एक लाख ८१ हजार ६११ पुगेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार १० वर्षको बीचमा मुद्दाको सङ्ख्या पनि दोब्बर वृद्धि भएको छ । विसं २०६५ मा सर्वोच्चलगायत देशभरिका अदालतमा एक लाख १४ हजार ५१८ मुद्दा दर्ता हुने गरेकामा अहिले आएर त्यो सङ्ख्या दुई लाख ७६ हजार १४७ पुगेको छ ।

यसरी हेर्दा विगत १० वर्षमा अदालतमा एक लाख ६१ हजार ६२९ थान मुद्दाको लगत बढी रहेको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४÷०७५ मा सर्वोेच्च अदालत मातहत अदालत तथा न्यायाधीकरणसमेतमा ६५.७७ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ । यस आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा ३.८९ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएको छ । अघिल्लो आर्थिक वर्षमा ६१.८८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको सर्वोच्चको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा दुई लाख ५४ हजार ५२९ मुद्दामध्ये एक लाख ५७ हजार ४९५ मुद्दा फछ्र्यौट गरिएको थियो । प्रवक्ता पोखरेलका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा सर्वोच्च अदातलते मात्र ३७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

सर्वोच्चले कूल ३२ हजार ७१७ मुद्दामा १२ हजार ४१९ मुद्दामात्र फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्वोच्चमा गत आर्थिक वर्षका २१ हजार ८२९ मुद्दा सरेको र यस वर्षको १० हजार ८८८ मुद्दा रहेका थिए ।

सर्वोच्चमा आर्थिक वर्ष २०७४÷०७५ मा गत आर्थिक वर्षभन्दा ५.०१ प्रतिशत बढी मुद्दा फछ्र्यौट गरेको हो । गत आर्थिक वर्षमा सर्वोच्चमा ३४ हजार ३५३ मुद्दामध्ये ११ हजार ३२१ मुद्दा फछ्र्यौट गरेको थियो ।

यस्तै सातवटै उच्च अदालतमा यस आर्थिक वर्षमा ७१.१० प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ । सातवटै उच्च अदालतमा कूल ५३ हजार २३६ मुद्दामा ३७ हजार ८४९ मुद्दा फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
उच्च अदालतमा यो गत आर्थिक वर्षभन्दा ८.२७ प्रतिशतले बढी मुद्दा फछ्र्यौट हो । गत आर्थिक वर्षमा ५४ हजार ३४ मुद्दामा ३३ हजार ९४७ मुद्दा फछ्र्यौट गर्दै ६२.८३ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो ।

यस्तै ७७ वटै जिल्ला अदालतमा ६९.२८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रवक्ता पोखरेलका अनुसार जिल्ला अदालतमा कूल एक लाख ८८ हजार ७७ मुद्दामध्ये एक लाख ३० हजार २९२ मुद्दा फछ्र्यौट गरिएको छ ।

गत आर्थिक वर्षको ५२ हजार ६२७ र यस आर्थिक वर्ष नयाँ दर्ता गरिएका एक लाख ३५ हजार ४५० मुद्दा रहेका थिए । यस आर्थिक वर्षको मुद्दाको फछ्र्यौट गत वर्षभन्दा १.५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा एक लाख ६३ हजार ३४३ मुद्दामध्ये एक लाख १० हजार ७१६ मुद्दा फछ्र्यौट गर्दै ६७.७८ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो ।

यस्तै वार्षिक प्रतिवेदनमा अन्य अदालत तथा न्यायाधीकरणमा ४९.६५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको उल्लेख गरिएको छ । कूल दुई हजार ११७ मुद्दामध्ये एक हजार ५१ मुद्दा फछ्र्यौट गरिएको छ । यो गत वर्षभन्दा ४.२६ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा अन्य अदालत तथा न्यायाधीकरणका दुई हजार ८०३ मुद्दामध्ये एक हजार ५११ मुद्दा फछ्र्यौट गर्दै ५३.९१ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij