
उनका घर बालाजु बाइपासमा निर्वाचन क्षेत्रभरिका पार्टी जनप्रतिनिधि भेला भएका थिए। तिनीहरूले गौतमका लागि पद छाड्न लागेकोबारे जिज्ञासा राखेका थिए। मानन्धरे भने, ‘हो।’ उनले आफू पार्टी केन्द्रीय समिति वा सरकार कतै नभई सांसद मात्र हुँदा कसैले नटेरेको अनुभूति सुनाए। त्यही कारण क्षेत्रको विकास गर्न नसकेको बताए।
पार्टी शीर्ष नेताहरूसँग सोमबार छलफल गरेपछि उनले पद छाड्ने ‘स्वीकृतिपत्र’ अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएका थिए। उनका शुभचिन्तकले हारेका नेतालाई ठाउँ खाली गरिदिँदा गलत नजिर बस्ने भन्दै पुनर्विचार गर्न आग्रह गरे। प्रत्युत्तरमा उनले अझ ठूलो उपलब्धिका लागि छाडेको बताए। उनकै अनुसार शीर्ष नेताहरूले राष्ट्रियसभा सदस्य, मन्त्री र पार्टी केन्द्रीय सदस्य बनाउने विश्वास दिलाएका छन्।
त्यसमा उनी ढुक्क देखिन्थे। भने, ‘मलाई राजीनामा दिए पनि कतै निकाल्दैनन्। म सांसदको सांसदै हुन्छु। केही समय खाली हुने मात्र हो। राष्ट्रिय सभामा डेढ वर्षपछि लग्ने कुरा छ। म पार्टीभित्र बार्गेनिङ गर्छु। म मन्त्री भए तपाईंलाई चुनाव जित्न सहज हुन्छ भन्छु। तेस्रो कुरा पार्टी केन्द्रीय सदस्य दुई वर्षपछि सहमतिमा बनेपनि, नबने पनि प्यानलमा पर्छु नै।’
मानन्धरले आफू सांसद मात्रै भएकाले प्रहरीका हाकिमले नटेरेको, काठमाडौं विकास प्राधिकरणका अध्यक्ष भाइकाजी तिवारीले समेत विकास योजनामा आलटाल गरेको गुनासो सुनाए। त्यसकारण पनि शक्तिशाली नेतालाई निर्वाचित गर्नुपर्ने उनको जिकिर थियो।
‘अहिले हामीलाई अर्थमन्त्रीले वास्ता गरिरहनु भएको छैन, मन्त्रालयले झुलाउने काम गरिरहेको छ’, उनले भने, ‘मेरो राजीनामासँगै मैले निर्वाचन क्षेत्रका विकासे योजनामा गौतमसँग लगानी प्रस्ताव गर्छु। यसमा उहाँको परीक्षा हुनेछ।’ आफ्नो निर्वाचन क्षेत्रमा बजेट लगानी गर्न प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म योजना लैजाने पनि उनले दाबी गरे।
गौतमलाई अपमानित नगर्न र चुनावी तयारीमा लाग्न मानन्धरले कार्यकर्तालाई निर्देशन समेत दिए। उनले गौतमको व्यक्तित्वको प्रशंसामा पनि केहीबेर बोले। भने, ‘वामदेव कमरेड मात्रै एउटा यस्तो मान्छे हो, जसले पार्टी विभाजनपछि एकताका क्रममा एक्लैले भूमिका खेल्नुभयो। एमाले–माओवादी मिलाउन पनि उत्तिकै भूमिका खेल्नुभयो। जनतालाई बुझाउन आजैदेखि यो बुझाउन थाल्नुस्।’
एक अर्बले त जितिएला नि !
सोमबार बिहानसम्म मानन्धरले पद छाड्नुपर्ने कुनै सुइँको पाएका थिएनन्। बिहान पौने १२ बजे शीर्ष नेताले छलफल गर्न भन्दै बोलाए। त्यहीँ राजीनामाबारे कुरा भयो।
गौतमले प्रतिनिधिसभा सदस्य बन्न इच्छा देखाएपछि आफूसम्म प्रस्ताव आउन सक्ने अनुमान उनले ६ महिनाअघि नै लगाएका थिए। तर औपचारिक कुराकानी सोमबार बिहान मात्रै भयो। उनले स्थानीय तहमा कांग्रेसले धेरै स्थानमा जितेको, महानगरले जनअपेक्षाअनुसार काम गर्न नसकेको कारण जित्न सजिलो नहुने बताएका थिए।
गौतमले उल्टै प्रश्न गरेका थिए, ‘जित्नका लागि कति खर्च गर्नुपर्ने हो ? एक अर्ब चाहिन्छ ? त्यति भए जितिँदैन ? ’ खर्चका लागि गौतम तयार रहेको पनि उनले स्थानीय प्रतिनिधिलाई सुनाए।
मंगलबार दिउँसो पत्रकार सम्मेलनमा भने उनले आफै पद छाड्न तयार रहेको दाबी गरे। राजीनामाबारे आउने पार्टी सचिवालय बैठकले निर्णय लिन सक्ने पनि उनले बताए।
जनप्रतिनिधिका प्रश्न :
* अरु क्षेत्रले नमानेर हो कि, तपाईंलाई प्रलोभनमा पारेर हो कि , हाम्रो काँधमा चढेर तपाईंहरू लाभ लिने ? भोलि वामदेवले जित्लान्, प्रधानमन्त्री पनि होलान्, मानिलिऊँ। तर भोलि हामी त फिस्स ! उहाँ (वामदेव)ले दिएको आश्वासन कार्यान्वयन हुन्छ भन्ने ग्यारेन्टी के ? त्याग देखाउनु, पार्टीको निर्देशन मान्नु राम्रो हो। तर राजीनामा दिएको मान्छे भोलि फेरि यही स्थापित हुन गाह्रो पर्ला। ४ वर्षपछि मेरो स्थान के ? कहाँ गएर राजनीति गर्ने ? तपाईंले के सोच्नुभएको छ ?
* एक वर्ष बितिगयो, ४ वर्षपछि पनि चुनाव आउँछ। चार वर्षपछि वामदेव कमरेड उठे भइहाल्यो नि, पहिले नै जित्ने ठाउँमा किन उनी नउठेको ?
* हाम्रै क्षेत्र वामदेवलाई किन चाहियो ? तपाईंले छोड्नु उपयुक्त छैन। भइरहेको सांसदलाई राजीनामा गराएर अर्को सांसद बनाउछौं भनेर जनताका अगाडि कुन मुखले हामी भोट माग्न जाने ? हामी कार्यकर्ताको मनोबल कहाँ पुग्ला ? यो वा त्यो बहानामा धेरै गुलियो चीज खुवाइयो। तपाईं स्वयम्लाई प्रधानमन्त्रीले मन्त्री बनाउछु भन्नुभएको थियो। किन बनाउनु भएन ? के तपाईं अयोग्य र भागबन्डामा नपरेर हो ?
* ८ हजार मतले हामीले चुनाव जितेका छौं। तर यहाँ वामदेवले आएर जित्ने आधार के ? काठमाडौंमै माधव नेपालको क्षेत्रमा उपचुनावमा हामीले देखेका छौं। ८ हजारले जितेका थियौं, तर हार्यौं त। हामी कार्यकर्ताको सेक्युरेटी र हाम्रो भूगोलको चिन्ता खोई?
* १२ ठाउँमा प्रयास गर्दा पनि अरुले छोडेनन्। तर किन तपाईं चाहिँ सजिल्यै छाड्ने ? तपाईंले जित्ने बेला कति संर्घष गर्नुपरेको थियो ? पार्टीको चाहिने निर्णय मान्ने, प्रेसरका नचाहिने निर्णय किन मान्ने ? जित्ने ग्यारेन्टी छैन। छोडनु हुन्न।
रामवीरको जवाफ :
*पार्टी निर्णयको पालना हामी सबैले गर्नुपर्छ। हामीलाई टिकट पार्टीले दिने हो। कसले लियो र कसलाई दियो भन्ने कुरासँग भन्दा पार्टीसँग म मतलब राख्ने मान्छे हुँ। म ५७ वर्ष पुगें। मेरो लाइफलाइनमा मैले अहिले जति ‘गेन’ गरेको छु, त्यो धेरै हो। मेरो जति अवसर पाएका साथीहरू एक जना पनि मैले पाएको छैन।
* प्रचण्ड र केपी कमरेडलाई मिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका एउटा महत्वपूर्ण नेतालाई बाहिर राखेर हुँदैन। उहाँलाई कुनै न कुनै रूपमा सक्रिय राजनीतिमा ल्याउन दिने हाम्रो कर्तव्य पनि हो। हामीले सानातिना कुरामा हेर्नुहुँदैन। उहाँ आउँदा यो क्षेत्रको विकास हुन्छ। विकाससँग मैले पद साट्न खोजेको हुँ।
* मलाई आशंका ६ महिनादेखि नै थियो। वामदेव हार्नुभएको छ। खोज्दै आउनु हुन्छ। सबैभन्दा सजिलो मै छु। वामदेवसँग मेरो ०५१ सालदेखि अत्यन्त नजिकको सम्बन्ध थियो। त्यसबेला ९० जना सांसद पार्टी कार्यालयमा लुकाएका बेला मेरो घरमा राख्ने भनेर हेरिएको थियो। घर बाटोछेउमा भएकाले यहाँ बम हानियो भने के गर्ने ? यहाँ हुँदैन भनेर उहाँले भनेपछि बल्खुमा लगेर राखिएको थियो। अहिले त्यही भयो। उहाँका लागि मैले पद छाड्ने स्वीकृतिपत्र पार्टीलाई बुझाएर आएको छु।
अन्नपूर्ण पोष्टबाट