२०८३ साउन ११ सोमबार

बिमस्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी, सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय परिचालित

ई आर्थिक    मंगलबार, भाद्र १२ २०७५
3K
Shares
बिमस्टेक सम्मेलनमा १७ हजार सुरक्षाकर्मी, सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय परिचालित
टेकराज थामी, काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ । सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको सरकारले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गर्नेछ । सेनाकै सुरक्षा योजनाअनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् ।

संयोजक सुवेदीले सुरक्षा योजना पारित भएर लागू पनि भइसकेको बताए । उनले भने, ‘मेरै संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनेको छ । जसमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा गुप्तचर परिचालन हुनेछन् । सुरक्षा प्रबन्ध मजबुत पारिएको छ । सुरक्षा प्रबन्धमा कुनै सम्झौता गरिएको छैन ।’

यस्तो रहनेछ सुरक्षा घेरा
गृहका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् । सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली पनि सादा पोसाकमा खटिनेछन् । यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरू हतियारसहित हुनेछन् । तर, नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुन्छन् ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बिमस्टेक सम्मेलनका लागि आवश्यक सुरक्षा प्रबन्ध पूरा भएको बताए । उनले भने, ‘भिभिआइपी र भिआइपीको सुरक्षा प्रबन्ध सेनाको कमान्डमा हुँदै आएको छ । यसपटक पनि सोही विधिअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । यसको संयोजन भने गृह मन्त्रालयबाट भएको छ । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी राखिएको छैन ।’

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी मनोज न्यौपानेले सुरक्षा घेरा तीनभन्दा अझ धेरै पनि हुन सक्ने बताए । उनले भने, ‘सुरक्षा घेरा यति नै भन्ने हुँदैन । त्यो आवश्यकताले निर्धारण गर्ने हो । तीनभन्दा धेरै पनि हुन सक्छ । जे होस् हामी सुरक्षा प्रबन्धप्रति सचेत छौँ । आवश्यक सबै तयारी पूरा भएको छ ।’

हेलिकोप्टरबाट पनि निगरानी
सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीले भने, ‘बिमस्टेक सम्मेलन अवधिभर हवाई प्याट्रोलिङ हुनेछ । विशेषगरी सम्मेलनस्थल तथा भिभिआइपी आवागमन गर्ने क्षेत्रमा हवाई गस्ती हुनेछ ।’

भिभिआइपी उडानले ५ दिन विमानस्थल प्रभावित हुने
बिमस्टेकको चौथो सम्मेलनका लागि मंगलबारबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु हुँदै छ । जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि शनिबारसम्म प्रभावित हुने भएको छ । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौंं आइपुग्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकारप्रमुखको आवागमनका समयमा कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुन्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij