नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाको प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै सपना देखेको पानीजहाज कुन मन्त्रालयअन्तर्गत पर्छ र त्यसको तयारी के भइरहेको छ भन्ने प्रश्नमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षभित्र पानीजहाजसम्बन्धी सबै प्रक्रिया अगाडि बढाउने जवाफ दिए ।

अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई बेवास्ता गरेर सरकारले उद्योग चलाउने कुरा कल्पना गर्न नसकिने भन्दै लगानीकर्ताले आत्तिनुपर्ने कारण नरहेको बताए । उनले निजी क्षेत्रले प्रतिस्पर्धा गर्न नसक्ने क्षेत्रमा मात्र सरकारले लगानी गर्ने स्पष्ट पार्दै पूर्वाधारको अभावमा निजी क्षेत्रलाई सोचेअनुसार अगाडि लान नसकिएको बताए ।

अर्थमन्त्री खतिवडाले जवाफ दिनुपहिले उनी सामु नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले मुलुकको आर्थिक विकासको आधार नेपाली कांग्रेसले खडा गरेको भन्दै उक्त आधारमाथि कम्युनिष्ट सरकारबाट किन सधैं प्रहार हुन्छ भनी प्रश्न गरेका थिए । यस्तै, सांसद पाण्डेले भारतले गरेको नोटबन्दीपछिको असरका बारेमा पनि खतिवडाको धारणा माग गरे । जवाफमा उनले भारतीय नोटबन्दीपछिका समस्याका बारेमा भारतीय पक्षसँग कुराकानी गरिने बताएका छन् ।

“भारतमा ५ सय र २ हजार दरका नयाँ नोट छापिएका छन् । तर नोटबन्दीपछि त्यो हामीले चलाउन मिल्दैन,” उनले भने, “यसका कारण सीमा क्षेत्रमा असुविधा छ, नयाँ ढंगले छलफल अगाडि बढाउँदैछौं ।” उनले विगतमा लामो प्रयासपछि ५ सय र १ हजार दरका नोट नेपालमा पनि निश्चित परिमाणमा चलाउन पाएको प्रष्ट पार्दै नोटबन्दीपछि समस्या केही बढेको बताए ।

यसैगरी, खतिवडाले ब्याज दरका बारेमा मौद्रिक नीतिले समाधान खोज्ने बताए । उनले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तयार पारिरहेको हुँदा ब्याज दरको समस्या त्यहीँबाट समाधान हुने बताए ।

कारोबारबाट