काठमाडौं ओर्लियो पहिलो वाइडबडी
अच्युत पुरी, काठमाडौं, १५ असार । नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वाइड–बडी (ए३३०–२००) मध्ये पहिलो जहाज ‘अन्नपूर्ण’ काठमाडौं ओर्लिएको छ । ६ दशकअघि २८ सिट क्षमताको ‘डगलास डिसी–डाकोटा’ जहाजबाट उडान यात्रा थालेको निगमले इतिहासमै पहिलोपटक वाइड–बडी जहाज भित्र्याएको हो । निगम १ जुलाई अर्थात् आइतबार ६१औँ वर्षमा प्रवेश गर्दै छ ।
२७४ सिटे जहाज
काठमाडौं ओर्लिएको निगमको पहिलो वाइड–बडी जहाजको सिट क्षमता २ सय ७४ छ । १८ सिट बिजनेस र २ सय ५६ सिट इकोनोमिक क्लासका छन् । फ्रान्सको तुलुजबाट करिब ९ घन्टाको उडानमा यो जहाज काठमाडौं आइपुगेको हो । अर्को वाइड–बडी डेढ महिनाभित्र नेपाल ल्याउने योजना छ ।
स्वदेशी लगानीमा सफल परियोजना
निगमले दुई वाइड–बडी जहाज किन्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको छ । प्रतिजहाज खरिदमा करिब ११ अर्ब रुपैयाँ र बाँकी रकम व्यवस्थापकीय काममा खर्च गर्ने योजनासहित निगमले ऋण लिएको थियो । २८ जेठ ०७४ मा यी दुई निकायसँग ऋण सम्झौता गरेको निगम एक वर्षमै जहाज भित्र्याउन सफल भएको छ ।
प्रजातन्त्रले लुट्यो, गणतन्त्रमा ब्यँतिँदै
कुनै समय गर्विलो इतिहास बोकेको निगमलाई ०४६ को राजनीतिक परिवर्तन र प्रजातन्त्र पुनस्र्थापनापछि राजनीतिक नियुक्ति र काण्डैकाण्डले डुबाउँदै लग्यो । निगममा झन्डै ४ दशक सेवा गरी सेवानिवृत्त पूर्व कर्पोरेट निर्देशक रामहरि शर्मा सम्झन्छन्, ‘०४५ सम्म निगम राम्रोसँग चलिरहेको थियो, जब प्रजातन्त्र आयो, त्यसपछि जसरी राजनीति अस्थिर बन्यो, त्यसैगरी निगम व्यवस्थापनलाई पनि स्थिर हुन दिइएन ।’ निगम व्यवस्थापनले लिने निर्णय ६ महिनामा सरकार परिवर्तन भएपिच्छे परिवर्तन हुने परिपाटी निगमको प्रगतिको बाधक भएको उनी बताउँछन् ।
त्यसपछि निगमलाई राजनीतिक नेतृत्वको लहडमा विभिन्न काण्डमा फसाउँदै लगियो । प्रजातन्त्र आएपछि निगमका लागि जहाज भाडामा लिँदा प्राप्त हुने कमिसनमा राजनीतिक नेतृत्व लोभियो । फलस्वरूप धेरै काण्ड यसबीचमा भए । त्यसपछि निगमले माथि उठ्न निकै संघर्ष गर्नुप-यो ।
निगमको टर्निङ प्वाइन्ट
प्रजातन्त्र निगमका लागि फापेन । झन्डै बन्द हुने अवस्थामा पुगेको निगमलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सन् २०११ मा गरेको एक निर्णयले निकै राहत दिएको पूर्वकर्पोरेट निर्देशक शर्मा बताउँछन् । बाबुराम नेतृत्वको सरकारले निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने निर्णय गरेको थियो ।
उनका अनुसार त्यसपछि निगम व्यवस्थापन केही हदसम्म स्थिर बन्यो । व्यवस्थापनले लिएका निर्णय कार्यान्वयन हुने अवस्था आयो । वर्तमान महाप्रबन्धक कंसकारको नियुक्तिसँगै निगम हरेक वर्ष कम्तीमा एउटा जहाज जोड्ने योजनासाथ अगाडि बढ्यो । निगमका निर्णयमा सरकारले साथ दियो, फलस्वरूप क्रमशः सकारात्मक नतिजा देखिन थालेको उनको बुझाइ छ ।
अबको के योजना छ ?
निगममा अब दुई विभाग : पर्यटनमन्त्री
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निगमको व्यवस्थापनलाई सक्षम बनाउन आन्तरिक र बाह्य उडानका छुट्टाछुट्टै विभाग गठनको तयारी भइरहेको जानकारी दिए । बिहीबार फ्रान्सबाट नेपाल आइपुगेको जहाजलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै मन्त्री अधिकारीले निगमको प्रभावकारी सञ्चालनका उपायहरू खोजी भइरहेको बताए । ‘सरकार कसैको हात बाध्ने पक्षमा छैन,’ उनले भने, ‘तपाईंहरू राम्रोसँग काम गर्नुस्, नेपाल वायुसेवा निगमको प्रगतिमा मुलुकको पर्यटनको भविष्य जोडिएको छ ।’
नयाँ जहाज आएसँगै आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र पहिलो चरणमा कतारको दोहा र युएईको दुबईमा उडान थाल्ने योजना छ । दोस्रो चरणमा जापान, दक्षिण कोरिया र साउदी अरबको रियादमा निगमका वाइड–बडी जहाज उड्नेछन् ।
यी जहाजले अस्ट्रेलिया, लन्डनसम्म सीधा उडान गर्न सक्ने भएकाले क्रमशः ती क्षेत्रको उडानतर्फ केन्द्रित हुने योजना निगमको छ । दुई वाइड–बडी जहाज आएसँगै अब निगमसँग दुई न्यारो–बडी, दुई वाइड–बडी र एक बोइङ गरी अन्तर्राष्ट्रिय उडानमा ५ जहाज हुनेछन् । निगमले सन् २०१९ को अन्त्यसम्म थप दुई न्यारो–बडी जहाज ल्याउने प्रक्रिया थालिसकेको छ ।

निगम डुबाउने चर्चित दुई काण्ड
धमिजा काण्ड
०५० सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बेलायती मूलका व्यापारी दिनेश धमिजालाई युरोपका लागि निगमको जनरल सेल्स एजेन्ट नियुक्त गरेको घटना धमिजा काण्डका नामले चर्चित छ । सार्वजनिक खरिद नियमविपरीत टेन्डर गरिएको उक्त सम्झौताबाट निगमले झन्डै ४० करोड घाटा बेहोरेको थियो
लाउडा काण्ड
०५७ मा निगम र अस्ट्रियाको लाउडा एयरबीच सम्झौता गरियो । जुन, लाउडाको जहाज निगमलाई भाडामा दिने सम्झौता थियो । निगमसँग आफ्नै जहाज रहेको, चाइना साउथवेस्टर्नसँग भाडामा लिने सम्झौता भइसकेको अवस्थामा थप जहाज नचाहिने भन्दै संसद्मै हंगामा भयो । यो काण्डबाट निगमले झन्डै २ अर्ब नोक्सान बेहोर्न पुग्यो ।
निगमको जहाज यात्रा : डाकोटादेखि वाइडबडीसम्म
१९५८ : निगमको पहिलो जहाज डगलास डिसी–३ डाकोटा हो । २८ सिट क्षमताको यस जहाजबाट निगमले ७० को दशकसम्म नेपाली आकाशमा सेवा दियो ।
१९६३–१९६५ : निगमले आन्तरिक उडानको प्रयोजनका लागि सन् १९६३ मा १२ सिट क्षमताको फोङ सु हार्भेस्टर एएन–२ जहाज किन्यो । यी जहाज भने निगमले सन् १९६५ सम्म मात्र चलायो ।
१९६१–१९९८ : निगमले सन् १९६१ मा स्विट्जरल्यान्डमा बनेको सिंगल इन्जिन जहाज पिलाटस पोर्टर पिसी–६ मोडलको जहाज भित्र्यायो । यो मोडलको जहाज नेपालको हिमाली तथा पहाडी इलाकामा निकै सहज रूपमा उड्यो ।
१९६६–१९७० : सन् १९६६ मा निगमले ४४ सिट क्षमताको फोकर फ्रेन्डसिप एफ–२७ जहाज भित्र्यायो । निगमले यो जहाजलाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडाएको थियो ।
१९७० : सन् १९७० मा आन्तरिक तथा बाह्य गन्तव्यमा उडाउने प्रयोजनका लागि निगमले ‘ह्याकेर सिड्ले एचएस–७४८ अभ्रो’ ल्यायो । त्यसपछि निगमले पर्यटकलाई माउन्टेन फ्लाइटमा पनि लैजान थाल्यो ।
१९७१ : नेपाली आकाशमा ७० को दशकपछि ट्विनअटर जहाज प्रवेश भयो । निगमले १९७१ मा पहिलोपटक १९ सिट क्षमताको क्यानेडियन ट्विनअटर डिएचसी–६ जहाज भित्र्यायो । यो जहाज धुले र कच्ची धावनमार्ग भएका पहाडी तथा हिमाली भेगका विमानस्थलमा सफलतापूर्व उड्यो ।
१९७२–१९९३ : निगमको इतिहासमा ७० को दशक निकै उज्ज्वल थियो । त्यस समय निगमले जहाज क्षमता अभिवृद्धिमा निकै लगानी गरेको थियो । १९७२ मा अन्तर्राष्ट्रिय उडानका लागि निगमले बोइङ ७२७ जहाज भित्र्यायो । यस जहाजको क्षमता १ सय २३ सिटको थियो ।
१९८७ : ८० को दशकमा नेपालमा पर्यटक भित्र्याउने मुख्य माध्यम निगम थियो । यो समय निगमको जहाज जर्मनीको फ्र्यांकफर्ट, बेलायतको लन्डन, जापानको ओसाका विमानस्थलसम्म उड्ने गथ्र्याे । ती गन्तव्यमा उडाउने प्रयोजनका लागि निगमले बोइङ ७५७ जहाज भित्र्यायो । १ सय ९० सिट क्षमताका यी जहाजबाट दुबईमा ट्रान्जिट गरी निगम लामो दूरीका विभिन्न विमानस्थलसम्म उडेको थियो । निगमले बोइङ ७५७ भित्र्याएपछि झन्डै तीन दशक अन्तर्राष्ट्रिय उडानमा नयाँ जहाज थप्न सकेन ।
२०१४ : आन्तरिक उडानमा निजी क्षेत्रले ठूला जहाज भित्र्याएर कडा टक्कर दिन थालेसँगै निगमले पनि सन् २०१४ मा एमए ६० जहाज भित्र्यायो । ५६ सिट क्षमताको यो जहाज चीनमा बनेको हो । यही वर्ष निगमले चीनबाटै वाई१२इ मोडलको अर्को जहाज भित्र्याएको छ जुन १८ सिट क्षमताको छ ।
२०१५ : निगमले सन् २०१२ मा आफ्नो सेवाबाट बोइङ युग विस्थापित गर्दै एयरबसमा जाने निर्णय ग-यो । फलस्वरूप २०१५ मा न्यारो–बडी जहाज एयरबस ३२०–२०० भित्र्यायो । अन्तर्राष्ट्रिय उडानमा झन्डै जहाजविहीन बनेको निगमको साख निकै खस्किएको थियो ।
यस अवस्थामा निगमलाई जीवनदान दिने गरी यो जहाज भित्रियो । यतिखेर भित्रिएका दुई जहाज उडाउँदै निगम बिस्तारै जुर्मुराउन थाल्यो । उडान बन्द भएका लोकप्रिय गन्तव्य दिल्लीसहित क्षेत्रीय उडानमार्फत अहिले निगम अन्तरर्राष्ट्रिय उडानमा १० प्रतिशत बजार हिस्सा लिन सफल भइसकेको छ ।
२०१८ : निगमको इतिहासमै पहिलोपटक बिहीबार ए३३०–२०० जहाज काठमाडौं उत्रियो । निगम अब विगतमा गुमेका पुराना गन्तव्य ब्युँताउने योजनामा छ ।
वाइडबडीले खुसीसँगै जिम्मेवारी थपिएको छ : सुगतरत्न
नेपाल वायुसेवा निगमको इतिहासमा बिहीबार नयाँ आयाम थपियो । निगमले खरिद गरेका दुई वाइडबडी जहाज ए ३३०–२०० मध्ये एउटा जहाज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ओर्लियो । अर्को जहाज डेढ महिनापछि आउँदै छ । जहाज आउनु निश्चय पनि राम्रो हो, तर यसलाई यात्रुले भरिभराउ गरेर उडाउनु निगमका लागि निकै चुनौतीपूर्ण हुनेछ । यसै सन्दर्भमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज र यसको महत्वका सन्दर्भमा यस्तो बताए :
सुगतरत्न कंसकार, महाप्रबन्धक नेपाल वायुसेवा निगम
अर्थतन्त्रकै टर्निङ प्वाइन्ट
नेपालको इतिहासमा नेपाली जनताकै लगानीबाट पहिलोपटक वाइडबडी जहाज भित्रिएको छ । आजको दिन नेपाल वायुसेवा निगमको व्यावसायिक भविष्य मात्र नभई नेपालको अर्थतन्त्रका लागि पनि टर्निङ प्वाइटका रूपमा रहनेछ । यद्यपि यो सुरुवात मात्र हो । हामी निकै अगाडि जानु छ । नेपाल वायुसेवा निगमले केवल उडान सेवा मात्र गरेको छैन, नेपालको पर्यटनमा यसको उत्तिकै ठूलो योगदान छ ।
नेपाल आउन चाहने धेरै पर्यटक सीधा उडान सेवाको अभावले आउन सकिरहेका छैनन् । यसको परिपूर्तिमा पनि निगमले ठूलो योगदान गर्नेछ । हामी नेपाल आउने पर्यटकको सम्भावना बोकेका मुलुकमा क्रमशः सेवा विस्तार गर्दै जाने योजनामा छौँ ।
जिम्मेवारी थपियो
निगमले जब–जब नयाँ जहाज भित्र्याउँछ, यसले कर्मचारीमा खुसीसँगै थप जिम्मेवारी ल्याएको हुन्छ । निगमका १४ सय कर्मचारी अब निगमसँग उपलब्ध उत्पादनलाई कसरी अधिकतम रूपमा बिक्री गर्ने र त्यसबाट मुनाफा कमाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ । आफ्नो बानी व्यवहार सुधार गर्ने, प्रोएक्टिभ हुने, तत्काल भत्ता नपाए पनि ओभरटाइम काम गर्न सक्रिय हुने दिन आएको छ । त्यसो नगरेसम्म हामी विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । कार्यशैलीमा नया“पन ल्याएर त्यसलाई काममार्फत नतिजा ल्याउनुपर्ने चुनौती निगमका कर्मचारीमा थपिएको छ ।
पर्यटन र निगमको सम्बन्ध
अब कर्मचारी, व्यवस्थापन र सबै सरोकारवाला कम्तीमा नेपाल वायुसेवा निगमको उन्नति र प्रगतिको मूल्यमा एक स्थानमा आउने समय भएको छ । म निगममा रहेका कर्मचारी युनियनका साथीहरूसँग पनि आह्वान गर्न चाहन्छु, निगमलाई अगाडि बढाउने, निगमका माध्यमबाट मुलुकमा बढीभन्दा बढी पर्यटक भित्र्याउने र पर्यटनका माध्यमबाट मुलुकको अर्थतन्त्र वृद्धि गरी तीव्र विकासमा अगाडि बढाउने सन्दर्भलाई अभियानका रूपमा अगाडि बढाउनुपर्छ ।
सिट भर्न नसके घाटामा
निगमले दुई वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ । वाइडबडी जहाजमा २७४ सिटका छन् । अब प्रत्येक उडानमा यी सिट भर्न सकिएन भने निगम निरन्तर घाटामा हुनेछ । त्यसकारण अब निगम आफैँले गर्ने बजारीकरण पनि महत्वपूर्ण पक्ष हो । हामीले मुलुकभित्र झन्डै ३० वटा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । हामी त्यसका लागि तयार हुनुपर्छ ।
सुरक्षा प्राथमिकतामा
अन्य उद्योगको तुलनामा हवाई उद्योग बढी संवेदनशील मानिन्छ । किनकि यस उद्योगमा सेफ्टीको विषयमा कुनै सम्झौता गर्ने छुट छैन । सेफ्टी यात्रुको ज्यानको सुरक्षासँग सम्बन्धित हुन्छ । यात्रुको ज्यान ऐन, नियम, कानुन र विनियमभन्दा निकै माथि हुन्छ ।
त्यो रूपमा अगाडि बढ्नुपर्छ । यसको मतलव ऐन, नियम मान्दै नमान्ने भनेको होइन, कानुनलाई समसामयिक बनाएर सुरक्षित हवाई यात्राको प्रत्याभूतिका लागि सहजीकरण गर्ने काम निगमलाई पनि नियमन गरिरहेका निकायको हो । यसमा म मन्त्रालयसहित सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
जहाज मर्मतमा गम्भीरता
हवाई सेवामा जहाजको नियमित मर्मतसम्भारदेखि आकस्मिक अवस्थामा त्यसलाई उड्नयोग्य बनाउन सकिएन भने कम्पनी नाफामा जान सक्दैन । केही समयअगाडि निगमको एक जहाज बिग्रिँदा दुई महिनासम्म थन्क्याएर राख्नुप-यो । त्यसबाट निगमको नियमित उडानको तालिका नै बिग्रियो भने यात्रुबीच नकारात्मक सन्देश प्रवाह हुन गयो ।
दिल्लीमा ग्राउन्डेड भएर बसेको एयरबस ३२०–२०० जहाज मर्मतमा नयाँ सोच र अवधारणाबाट ल्याउन सकेको भए त्यो जहाज दुई हप्तामै उड्नयोग्य बन्ने थियो । आखिर किन समय लाग्यो भन्नेमा हामी गम्भीर हुनुपर्छ । भोलिका दिनमा मर्मतसम्भारकै कारण लामो समय जहाज ग्राउन्डेड हुन नपरोस् भन्नेमा सचेत हुनुपर्छ ।
आन्तरिक सेवा उत्तिकै महत्वपूर्ण
बाहिरबाट हेर्दा निगम केवल अन्तर्राष्ट्रिय सेवामा मात्र सीमित जस्तो देखिए पनि निगमका लागि आन्तरिक सेवा पनि उत्तिकै महत्वपूर्ण छन् । आन्तरिक सेवामा हामी छिट्टै सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा विस्तार गर्ने योजनामा छौँ । आन्तरिक सेवामा हामी नाफा–घाटा हेर्दैनौँ । मुलुकको आर्थिक विकास र नागरिकको सेवामा निगमको भूमिका महत्वपूर्ण हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य बनाएका सबै विमानस्थलमा अब निगमको सेवा पुग्छ ।
साताको एउटा उडान भए पनि, १९ सिटे जहाजमा दुईजनाले मात्र टिकट काटे पनि आन्तरिक उडानमा अब नियमित जहाज उड्नेछ । निगमका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै सेवा उत्तिकै महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय सेवा र ग्राउन्ड ह्यान्डलिङबाट नाफा गरेर भए पनि आन्तरिक सेवालाई नियमितता दिनु निगमको दायित्व हो ।
प्रतिस्पर्धी व्यावसायिक संस्थाको खाँचो
निगम अर्बौं डलर लगानीका ठूला वायुसेवा कम्पनीसँग प्रतिस्पर्धामा छ । सरकारी संस्थानमध्ये सबैभन्दा प्रतिस्पर्धी क्षेत्रमा खरो रूपमा उत्रिएर सेवा दिइरहेको एक मात्र संस्थान निगम हो । यसमा हामीलाई गौरव छ ।
निगमको यो छविलाई कायम राख्दै अझ प्रतिस्पर्धी बनाउन निगमको इन्जिनियरिङ र अपरेसन डिपार्टमेन्ट अझ बढी सक्षम हुनुपर्छ । हामीलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपेली युनियनले पनि नजिकबाट नियालिरहेका छन् ।
हवाई सुरक्षाका अन्तर्राष्ट्रिय चासोलाई आँखा चिम्लने अवस्था पनि छैन । त्यसकारण यी दुई विभागलाई बलियो बनाउन नयाँ अवधारणामा जानुपर्छ । यसमा आउट सोर्सिङदेखि अन्य उपायमार्फत निगम बलियो हुनुपर्ने खाँचो रहेको छ । संसारका हजारौँ वायुसेवा कम्पनी जुन बाटोमा छन्, निगम पनि त्यही बाटोमा जानुपर्छ । पछाडि फर्कने छुट छैन ।
बढी काम गरेर देखाउने प्रण
नयाँ जहाज भित्र्याएसँगै निगमका कर्मचारीले प्रण गर्ने वेला आएको छ । अब नियमितजस्तै गरिआएको कार्यशैलीमा परिवर्तन देखिनुपर्छ । यसको सुरुवात हरेक कर्मचारीबाटै हुनुपर्छ । नेपाल पर्यटनमा सम्भावना भएको मुलुक हो ।
दर्जनौँ कम्पनीले बिजनेस पाएको नेपालमा राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीले बिजनेस नपाउने भन्ने हुँदैन । हामीलाई काम गरेर देखाउने अवसर पाएको छ । प्रमाणित गर्न सके मुलुककै लागि फलदायी हुनेछ ।
हरेक वर्ष कम्तीमा एक जहाज
नेपाल वायुसेवा निगम सिट बेचेर मुनाफा कमाउने कम्पनी हो । हाम्रो उत्पादन जहाजको सिट हो । त्यसकारण अब हरेक वर्ष कम्तीमा एउटा जहाज थप्दै उडान विस्तार गर्दै जाने योजना छ । निगमले वाइडबडी जहाजबाट ७/८ घन्टा सीधा उडान हुन सक्ने गन्तव्यसम्म सेवा विस्तार गर्छ ।
हामी यस जहाजबाट लन्डनसम्म सीधा उडान गर्न सक्छौँ । नेपालमा पर्यटक आउन सक्ने सम्भावना बोकेका मुलुकमा हामी पुग्नै पर्छ । किनकि आजको दिनमा ६/७ घन्टा ट्रान्जिटमा बसेर कोही पनि घुमघाममा निस्कन रुचाउँदैन ।
नयाँ पत्रिकाबाट