२०८३ साउन ११ सोमबार

तरिका मिलाएर निर्धक्क प्रश्न सोध्न डा. महेन्द्र विष्टको निर्देशन

ई आर्थिक    मंगलबार, असार ५ २०७५
3.6K
Shares
तरिका मिलाएर निर्धक्क प्रश्न सोध्न डा. महेन्द्र विष्टको निर्देशन
काठमाडौँ — नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताएका छन् ।

सिंहदरबारस्थित कार्यालयमा आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डा विष्टले विगतमा आफू पिएसबीको मागकर्ताका रुपमा रहेको र अहिले कार्यान्वयन गर्ने जिम्मेवारीमा आएको उल्लेख गर्दै राष्ट्रिय प्रसारणका रुपमा संस्थालाई प्रमाणित गर्ने चुनौतीको सामना गरिने बताए । नेपाल सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर पिएसबीमा लानेसम्बन्धी कानून तर्जुमाको तयारी गरेको छ ।

अध्यक्ष विष्टले नेपाल टेलिभिजनभित्र कार्यरत पत्रकारले स्वायत्त महसुस गरेर काम गर्न आग्रह गर्दै भने, “निर्धक्क भएर प्रश्न सोध्न पाउनुहुन्छ तर तरिका मिलाएर मिडियाको सही चरित्रका आधारमा गुणस्तरीय सेवा दिन अघि बढ्नुहोला ।”
संस्थाका महाप्रबन्धक गोविन्द रोक्काले पिएसबीलाई ठोस निष्कर्षमा पुर्‍याउने चरणमा रहेको उल्लेख गर्दै टेलिभिजनमा प्रश्न सोधेका आधारमा ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गराएको भन्नेमा सत्यता नरहेको दाबी गरे ।
सञ्चालक समितिका सदस्य टंक पन्तले संस्थामा देखिएका दण्डहीनता अन्त्य गर्ने प्रयासमा व्यवस्थापन रहेको र त्यसमा सघाउन कर्मचारीलाई आग्रह गरे ।
नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले संस्थाभित्रको एकाधिकार र अनियमितता अन्त्यका लागि नयाँ नेतृत्वले काम गर्नुपर्ने बताए ।
नेपाल टेलिभिजन कर्मचारी संघका उपाध्यक्ष हेम घिमिरे, नेपाल पत्रकार महासंघ, टेलिभिजन शाखाका सचिव रविचन्द्र पराजुलीलगायतले अध्यक्ष विष्टको कार्यकालको सफलताको कामना गरे ।
अध्यक्ष विष्टलाई महाप्रबन्त्रक रोक्का, नायब महाप्रबन्धक दीपकमणि धिताललगायतले स्वागत गरेका थिए । डा विष्टले पदबहालीपछि आजै परिसरमा वृक्षरोपण गरे ।
नेपाल पत्रकार महसंघका पूर्वअध्यक्ष डा विष्टलाई गत जेठ ३१ गते मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij