लन्डन — बेलायतका राजकुमार ह्यारीले राजदरबारको परम्परा तोड्दै शनिबार अमेरिकी अभिनेत्री मेगान मर्केलसँग विवाह गरेका छन् ।
विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भएको भव्य वैवाहिक समारोहमा ह्यारीले बेलायती राजपरिवारको परम्परा तोडै मेगानलाई औंठी लगाइदिए। त्यसैगरी मेगानले पनि आफ्ना पतिको आज्ञा पालन गर्ने प्रतिज्ञा गरिनन्।
उनीहरुले बेलायतका महारानी एलिजावेद द्वीतीय र करिब ६ सय विशेष अतिथिमाझ विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा सँगसँगै जिउने वाचा गर्दै औंठी साटासाट गरेका थिए।
उनीहरुले सन् २०१६ को जुलाईदेखिको प्रेम सम्बन्धलाई शनिबार विवाहमा परिणत गरेका हुन्। विवाहलगत्तै महारानी एलिजाबेथले ह्यारी र मेगानलाई ‘ड्यूक अफ ससेक्स’ र ‘डचेज अफ ससेक्स’ को उपाधी समेत प्रदान गरेकी छन्।
ह्यारी बेलायतको राजगद्दीको उत्तराधिकारीको छैटौं नम्बरमा छन्। उनी बेलायती महरानीका नाती तथा राजकुमार चार्ल्सका छोरा हुन्। अमेरिकी अभिनेत्री मेगान परोपकारी कार्यमासमेत संलग्न छन्। विवाहका लागि बेहुली बेलायती डिजाइनर क्लेर वेट केलरले बनाएको कपडामा सजिएकी थिइन्।
स्थानीय समयअुनसार शनिबार दिउँसो भएको वैवाहिक समारोहपछि बेहुला(बेहुलीलाई बग्गीमा राखेर घुमाइएको थियो। समारोहमा अमेरिकी टेलिभिजन स्टार ओपरा विन्फ्रे, अभिनेता इडरिस एल्बा, जर्ज क्लुनी तथा फुटबलर डेबिड बेकहाम, सर एल्टन जोन लगायतका अतिथिको उपस्थिति थियो।
मेगानका पिता थोमस भने वैवाहिक समारोहमा स्वास्थ्यका कारण अनुपस्थित रहे। ७३ थोमस गतसाता मुटुको शल्यक्रियापछि आराम गरिरहेका छन्।
मेगान आफ्नी आमा डोरिया रगल्याण्डसहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन्। सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मेगानको हात समाएर वैवाहिक समारोहमा लगेका थिए। ह्यारी भने आफ्ना दाजु विलियमसागै विवाह समारोहस्थलमा पुगेका थिए।
समारोह शुरु हुनुअघि ३३ वर्षीया ह्यारीले विन्डसरस्थित उपस्थित भीडलाई आफूलाई अत्यन्त खुशी लागेको बताएका थिए। तामझामका साथ सम्पन्न विवाह समारोहलाई विभिन्न टेलिभिजनले समेत प्रत्यक्ष प्रसारण समेत गरेका थिए।
राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिमको विन्डसोर क्यास्टलको सेन्ट जोर्जेज च्यापलमा वैवाहिक समारोह भइरहँदा दरबार बाहिरको सडकका दुई किनारमा रहेका लाखौं मानिसले खुशी साटासाट गरेका थिए।
समारोहलाई विश्वभर करिब ३ अर्ब मानिसले अवलोकन गरेको बेलायती सञ्चार माध्यमले आँकलन गरेका छन्। बीबीसी