काठमाडौं । गोरखास्थित मनकामना मन्दिर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्पका कारण क्षतिग्रस्त मन्दिर जीर्णोद्घारको ९० प्रतिशत काम सम्पन्न भईसकेको मन्दिर जीर्णोद्धार समितिले जानकारी दिएको छ ।
जीर्णोद्धारको क्रममा रहेको सो मन्दिरको छानामा सुनको जलप लगाइएको छ । जलप लगाउन १५ किलो सून खरिद गरिएको पनि समितिले जानकारी दिएको छ । उक्त सुन खरिदमा ३ करोड ५७ लाख बराबर खर्च भएको थियो ।
मन्दिरको माथिल्लो छानाको पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको जीर्णोद्धार समितिका संयोजक नरेन्द्र बाबु श्रेष्ठले बताउनुभयो । साइत जुराएर चाँडै नै मन्दिरमा गजुर राखिने पनि श्रेष्ठले जानकारी दिए ।
पुनर्निर्माणको सबै काम सम्पन्न गर्न करिब १३ करोड रुपैयाँ लाग्ने अनुमान समितिले गरेको छ । जीर्णोद्धारका लागि भक्तजनबाट करिब ८ करोड संकलन भएको छ । सरकारले पुरातत्व विभाग मार्फत ४ करोड सहयोग प्रदान गरिएको थियो ।