२०८३ साउन १२ मंगलबार

पर्यटकको ध्यान तान्न जंगलभरि कलाकृति

ई आर्थिक    बिहिबार, चैत्र २२ २०७४
7.9K
Shares
पर्यटकको ध्यान तान्न जंगलभरि कलाकृति
तेह्रथुम — पर्यटकलाई आकर्षित गर्न लालीगुराँस नगरपालिकाको वसन्तपुरबासीले वनक्षेत्रमा जंगली जनावरका आकृति कुँदाएका छन् । जंगलभित्रका ठूला ढुंगा र रूखलाई कुँदेर आकर्षक आकृति बनाएका छन् ।

तीनजुरे पहाड फेंदीमा बाघ, गोही, छेपारो, कछुवा, डल्फिन, मयूर, जंगली घोडा, बँदेल, मृगलगायत जनावरका आकृति कुदिएका छन् । जंगलमा रहेका ठूला ढुंगालाई हिमाली भेगमा पाइने चौंरी, याक र पहाड तराइमा पाइने साँढे गोरुको आकृति दिएर कुद्ने काम भर्खरै सम्पन्न भएको छ ।

समुद्रमा पाइने गोही, डल्फिन र कछुवाको आकृति पनि जंगलमै कुदिएको छ । ढुंगामा यी जलचरको आकृति दिने काम पनि सम्पन्न भैसकेको वसन्तपुरवासीसमेत रहेका प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । तिवारीकै योजनामा पर्यटक भित्र्याउन यस्ता आकृति निर्माण गरिएका हुन् । सांसद हुनुपुर्व यी कामका लागि उनी आफैं खटिएका थिए ।

पर्यटन मन्त्रालयको २५ लाख रुपैयाँको आर्थिक सहयोगमा वसन्तपुरवासीले सुरु गरेको पार्क निर्माणको काममा अहिले लगानी थपिँदो छ । सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजना वसन्तपुरले पनि पार्क र आसपासका क्षेत्रमा लगानी बढाएको छ ।

मन्त्रालयले यस क्षेत्रको पर्यटन विकासका लागि उपलब्ध गराएको पैसाले वर्षभरि नै पर्यटक आकर्षित गर्न भौतिक पूर्वाधार निर्माणको काम थालिएको पार्क निर्माण समितिका सचिव प्रकाश श्रेष्ठले बताए । स्थानीयले पार्क क्षेत्रलाई आरआर गार्डेन (गुराँस र ढुंगाको बगैंचा) को नाम दिएका छन् । यो क्षेत्रमा २८ प्रजातिका गुराँस र विभिन्न आकृतिका कडा खाले ढुंगा पाइन्छन् ।

प्राकृतिक गुराँस जंगल र जंगलभित्र रहेका ढुंगा र पहाडको आकृतिको स्वरूप नबिगारीकन थोरै रङरोगन गरेर आकर्षक पर्यटकीय गन्तव्य बनाउने काम भएको अनुगमन समिति संयोजक वीरबहादुर सुब्बाले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij