काठमाडौँ — भविष्यमा जस लिन अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्रलाई नकारात्मक देखाएको आरोप पूर्वअर्थमन्त्री रामशरण महतले लगाएका छन् ।‘यति नकारात्मक अर्थव्यवस्था थियो । मैले सुधार गरें भन्ने देखाउनलाई’ अर्थमन्त्री खतिवडाले श्वेतपत्रमार्फत अर्थतन्त्रको अवस्था नकारात्मक देखाएको उनले बताएका हुन् ।
निजी निवासमा पत्रकार सम्मेलन गरी उनले केही सकारात्मक विषयहरूसमेत समावेश रहेको बताउँदै उनले भने, ‘वित्तीय अनुशासन कायम राख्न खोजिएको हो भने सकारात्मक मान्नुपर्छ ।’ तर, उनले पत्रकार सम्मेलनभरि अधिकांश समय श्वेपत्रको आलोचना गरेर बिताए ।
अर्थतन्त्रको वर्तमान अवस्थाबारे तथ्यांक सही भए पनि त्यसलाई गलत ढंगले प्रस्तुत गरेको उनको आरोप छ । ‘जुन तथ्यांक ल्याउँदा बिग्रेको देखिन्छ, त्यो मात्र देखाइयो,’ उनले भने, ‘नकारात्मक देखाउन कतै ५ वर्ष, कतै २० र २५ वर्षको अवधिमा तुलना गरिएको छ ।’ जुन समय अवधिमा तुलना गर्दा नराम्रो देखिन्छ, त्यहीअनुसार श्वेतपत्रमा प्रयोग गरिएको उनले बताए । ‘उदाहरणका लागि गएको २५ वर्षमा व्यापार घाटा ४१ गुणाले वृद्धि भयो भनिएको छ । २५ वर्षमै राजस्व ६२ गुणा (१२ अर्ब राजस्वबाट ७ सय ३० अर्ब) ले वृद्धि पनि भएको छ,’ उनले भने, ‘६२ गुणा बढेको विषय श्वेतपत्रमा समावेश गरिएन । किनकि यो तथ्यांक देखायो भने अर्थतन्त्र राम्रो देखिन्छ ।’
उनका अनुसार श्वेतपत्रमा मूल्य वृद्धिलाई गएको १० वर्षको उल्लेख छ । ‘गएको दुई वर्षमा मूल्यवृद्धि घटेको छ । त्यो देखाइँदैन,’ उनले भने । सरकारको ढुकुटी रित्तियो भन्नलाई पनि तथ्यांकको गलत प्रयोग भएको उनले बताए । ‘मैले राष्ट्र बैंकसँग बुझें, ढुकुटीमा अहिले २७१ अर्ब रुपैयाँ छ । ९२ अर्ब स्थानीय सरकारको हो । अन्य केही रकम कोषहरूको छ,’ उनले भने, ‘बाँकी सरकारकै रकम हो । जुन खर्च गर्न मिल्छ ।’
त्यस्तै राजस्वबारे श्वेतपत्रमा गलत हिसाबले प्रस्तुत गरिएको उनको आरोप छ । ‘कुल गार्हस्थ उत्पादनमा राजस्वको हिस्सा २४ प्रतिशत पुगेको छ । २५ वर्षअघि १० प्रतिशत मात्रै थियो । कुल गार्हस्थ उत्पादनमा १६/१७ प्रतिशतभन्दा बढी हिस्सा अरू देशमा पनि छैन,’ उनले भने, ‘तर, यो लेखिँदैन ।’ राजस्वभन्दा सार्वजनिक खर्च ११० प्रतिशत छ भनेर पनि नराम्रो तथ्यांक प्रस्तुत गरिएको उनले बताए । ‘यसको मतलव राजस्व एक सय रुपैयाँ उठछ भने सार्वजनिक खर्च १ सय १० रुपैयाँ भनेर श्वेतपत्रमा भनिएको छ,’ उनले भने, ‘कुनै पनि मुलुकमा राजस्वले सार्वजनिक खर्च धान्दैन । आन्तरिक तथा बाहय ऋण लिन्छन् । राजस्वको तुलनामा सार्वजनिक खर्च ११० प्रतिशत हुनु कुनै नौलो कुरा हैन । स्वाभाविक हो । तर, यो कुरा लेखिएन ।’
त्यस्तै बजेटमा विदेशप्रतिको निर्भरता घटेको तर श्वेतपत्रमा उल्लेख नभएको उनले बताए । ‘जस्तै २०४८ सालमा बजेट बनाउँदा ३५ प्रतिशत विदेशी सहायता थियो । अहिले घटेर १२/१४ प्रतिशतमा झरेको छ । यसलाई चर्चै गरिएन,’ उनले भने, ‘छानेर बिग्रेको तथ्यांक मात्रै देखाइयो । अर्थतन्त्र खराब अवस्थामा छ भन्न खोजिएको छ, त्यति खराब हैन ।’
अर्थव्यवस्थामा धेरै सकारात्मक पाटाहरू रहेको उनले औंल्याए । ‘यसलाई श्वेतपत्रले छोएको छैन । सकारात्मक कुरा पनि नकारात्मक ढंगले देखाउन खोजिएको छ,’ उनले भने । पछिल्लो समयको वित्तीय अनुशासनहीनताका कारण अर्थतन्त्रमा केही समस्या भने देखिएको उनको भनाइ छ । ‘आगामी दिनहरू पक्कै पनि चुनौतीपूर्ण छन् । यसलाई मितव्ययी भएर काम गर्नुपर्नेछ,’ उनले भने, ‘मैले दुई वर्षअघि नै भनेको थिएँ, वित्तीय अजारजकता बढिरहेको छ भनेर ।’
मुलुकमा पछिल्लो समय गैरउत्पादनशील र प्रशासनिक क्षेत्रमा खर्च बढाउने काम भइरहेको उनले बताए । ‘जस्तै सुविधा, भत्ता, आर्थिक सहायता, समाजिक सुरक्षा बढाउने काम भएको छ । कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च भइरहेको छ,’ उनले भने, ‘वित्तीय अनुशासनमा नबस्ने र जथाभावी खर्च हुने कामहरू भएका छन् । विगतका तीनवटा सरकारबाट यस्ता कामहरू भएका हुन् ।’
हालको सरकारले यी प्रवृत्तिलाई सम्बोधन गरेर सरकार मितव्ययी ढंगले अघि बढ्न खोजेको हो भने सकारात्मक रूपमा लिनुपर्ने उनले बताए । ‘अनुत्पादक खर्च घटाउन खोजेको हो, फजुल खर्च घटाउन खोजेको हो भने सकारात्मक मान्छु,’ उनले भने, ‘वित्तीय अनुशान कायम गर्ने र उत्पादनशील र पूर्वाधारमा खर्च गर्ने हो भने ठीक छ ।’ उनले हालको सरकारलाई सामाजिक सुरक्षाको विषयमा राष्ट्रिय सहमति गरेर नियन्त्रण गर्न सुझाव दिए । ‘सरकारले विकृतिलाई नियन्त्रण गर्न थाल्यो भने सकारात्मक मान्नुपर्छ,’ उनले भने ।
निजीकरणले मुलुकलाई कुनै घाटा नपुर्याएको बताए । ‘निजीकरण सुरु गर्दा म योजना आयोगको उपाध्यक्ष थिएँ । महेश आचार्यको पालामा सुरु भएको हो । म निजीकरणको समर्थक हुँ । हालसम्म निजीकरण ठीक ढंगले भएको छ,’ उनले भने, ‘निजीकरण नीति लामो छलफल गरेर सरकारले अपनाएको हो । गलत ढंगले गरिएको हैन ।’
संसदले पास गरेको कानुनले प्रतिस्पर्धाको माध्यमबाट निजीकरण गरिएको उनले बताए । ‘निजीकरण समिति छ, समितिमा विपक्ष दलका सांसद छन्, संसदीय समितिका प्रतिनिधि छन्, सम्बन्धित मन्त्रालयको प्रतिनिधि छ । जसले लामो छलफलपछि निजीकरणको निर्णय गरेको हुन्छ,’ उनले भने, ‘त्यसको आधारमा मन्त्रिपरिषदले निर्णय गर्ने हो । निजीकरण पनि सबै विकल्पहरूमा गरिएको छ ।’ निजीकरण नभएको भए अहिले यो अवस्था नआउने उनले बताए । ‘छालाजुत्ता निजीकरण गर्दा चल्न सकेन । तर, अहिले ४०/४५ जुत्ता कारखाना छन् । ५ सय करोडको निर्यात गर्छन्,’ उनले भने, ‘निजीकरण गर्न खोज्दा वीरगन्ज चिनी कारखाना कसैले लिएन । तर, ९० को दशकमा ८/१० वटा निजी चिनी कारखाना खुले । निजीकरणले मुलुकलाई नोक्सान गरेको छैन । अध्ययन गरेर कानुन बनाएर सहमतिमा निजीकरण गरिएको हो ।’
कर छुटको विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले उत्तर दिन चाहेनन् । ‘कुनै उद्योगलाई दिएको छुट उचित लाग्दैन भने कानुन संशोधन गरे भइगयो नि,’ उनले भने । सेयर बजारको विषयमा अनुत्पादक भन्न नमिल्ने उनले बताए । ‘यो अर्थतन्त्रको ऐना हो । कुनै पनि मुलुकमा लगानीको वातावरण कस्तो छ सरकारलाई विश्वास गर्छन् कि गर्दैन भन्ने सन्देश सेयर बजारले दिने हो,’ उनले भने, ‘अहिले सरकार आएपछि निरन्तर घटिरहेको छ । यसलाई सुधार गर्न सरकारले ध्यान दिएको छैन ।’ कान्तिपुरबाट