काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारीले चन्द्रागिरि सुरक्षित र आकर्षक पर्यटककीय गन्तव्य भएको वताउनुभयो । चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमणका क्रममा उहाँले सो कुरा वताउनुभएको हो ।
भ्रमणमा आउनु भएका मन्त्री अधिकारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गदै मन्त्री अधिकारीले सडक सञ्जाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताउनुभयो । त्यसपछिका पर्यटकीय पूर्वाधार र पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको निजी क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभयो । चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्ने बताउनुभयो ।

अव तोकिएका काम तोकिएकै समयमा निर्माण सम्पन्न भैसक्नुपर्ने गरी कार्यतालिका निर्माण गरेर काम गर्न लागिएको जानकारी दिँदै अव काम गरेर देखाउने वाहेक अन्य सुविधा आफूलाई नरहेको प्रष्ट पार्नुभयो । पर्यटन मन्त्रालयमा आफ्नो जिम्मेवारी समस्त पर्यटन व्यवसायीहरुको लागि असल अविभावक भएको भन्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सबैलाई सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।
सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्रयाउने योजनाका साथ अगाडी बढीरहेको जानकारी दिदै पर्यटकीय पूर्वाधारहरुको निर्माणमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने बताउनुभयो । संक्षिप्त प्रतिक्रियाकै क्रममा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागि सुरक्षित रहेको उहाँले बताउनुभयो ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हालेकै एक हप्ता भित्रमा मन्त्रीले चन्द्रागिरि परियोजनाको भ्रमण गरी आफू र आफ्नो समुहलाई हौसला प्रदान गर्नुभएकोमा धन्यवादका साथै आभार व्यक्त गर्नुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।