२०८३ साउन ११ सोमबार

पार्टी एकीकरण घोषणा फागुनभित्रै, अध्यक्ष ऋषि कट्टेल भन्छन्, ‘एकता गर्दिनँ, नेकपा दिन्नँ’

ई आर्थिक    बुधबार, फाल्गुन ९ २०७४
7.4K
Shares
पार्टी एकीकरण घोषणा फागुनभित्रै, अध्यक्ष ऋषि कट्टेल भन्छन्, ‘एकता गर्दिनँ, नेकपा दिन्नँ’
दुई कार्यदलले गृहकार्य सकेपछि एकीकृत पार्टी घोषणा
एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षर भएको छ, अन्तिम तयारी गर्न दुई कार्यदल गठन भएका छन्

शुरोजंग पाण्डे, वीरेन्द्र ओली काठमाडौं, ९ फागुन ।

राजनीतिक कार्यदल
एमाले : माधव नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त
माओवादी : नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल, देवेन्द्र पौडेल

विधान र संगठनात्मक कार्यदल

एमाले : ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ

माओवादी : रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव

सहमतिको खुसीमा बालुवाटारमा भोज
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् । मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए । ‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए । ‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने ।

 नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता
एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नुपर्नेछ ।

०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।

एउटै नाममा दुई पार्टी दर्ता गर्न मिल्दैन : आयोग
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एउटै नाममा दुईवटा पार्टी दर्ता हुन नसक्ने बताए । ‘नेताज्यूहरूलाई आयोगमा दल दर्ताको नियम थाहै होला,’ ढकालले नयाँ पत्रिकासँग भने, ‘नामकै कारण उहाँहरूको पार्टी दर्ता किन रोकिएला र ?’ नामको बीचमा कमा वा ड्यासलगायत केही थपेर उही नाम दर्ता गर्न सकिने उनले बताए ।

अध्यक्ष ऋषि कट्टेल भन्छन्, ‘एकता गर्दिनँ, नेकपा दिन्नँ’

नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु । उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।

हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij