डम्बरसिं राई, माघ २९, २०७४, खोटाङ — समृद्धिका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र मान्दै स्थानीय तहहरूले यसलाई सदुपयोग गर्दै योजना बनाउने भएका छन् । पूर्वाधार विकास गरी पर्यटक भित्र्याउने योजना जनप्रतिनिधिको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले प्रसिद्ध तीर्थस्थल हलेसी, किरात ऐतिहासिक थलो तुवाचुङ जायजुम, भुम्जु, मारतीका गुम्बाजस्ता धार्मिक–सांस्कृतिक क्षेत्रको व्यवस्थापन गर्ने योजना बनाएको छ । त्यसैअनुसार काम पनि सुरु भएको नगर प्रमुख इवन राईले बताए । नगरका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने हलेसी, तुवाचुङ–जायजुम भुम्जु लगायतका पर्यटन विकासमा डेढ करोड छुट््याइएको छ । यसमध्ये समग्र गुरुयोजना निर्माणमा ५० लाख खर्च गरिने किरातीले बताए ।
‘नगरको समृद्धि पर्यटनबाटै हासिल हुने देखिएको छ,’ किरातीले भने, ‘त्यसैलाई मध्यनजर गरेर बजेट विनियोजन गरिएको छ । यो नगरपालिकाले हलेसी बजारलाई सफा र व्यवस्थित गर्न सुरु गरेको छ । हलेसी बजार क्षेत्रमा बिनाअनुमति बनाइएका घर–टहरा भत्काउन सुरु गरेको छ । गत माघ १७ र १८ गते सरसफाइ अभियान सुरुसँगै घर–टहरा भत्काउन सुरु भएको छ । फागुन २ गतेसम्म घर–टहरा भत्काउने निर्देशन तथा सहमति भएको किरातीले सुनाए ।
नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्न ल्यानडफिल साइट बनाइएको छ । बसपार्क निर्माणाधीन अवस्थामा छ । आगामी फागुनभित्रै बसपार्क सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत किरातीले बताए । खानेपानी व्यवस्थित गर्न सुरु गरिएको छ । सुक्खा क्षेत्र घोषणापछि नेपाल सरकारको केन्द्रीय बजेट तथा नगरपालिकाले समेत १२ लाख विनियोजन गरेको हो ।
हलेसी क्षेत्रमा पानीको व्यवस्थापनका लागि दूधकोसी नदीको पानी ल्याउने तयारी गरिएको मेयर राईले सुनाए । यसका लागि तत्काल काम थालनी गर्ने राईले जनाए । पर्यटकलाई सहज यात्राका लागि सडक स्तरोन्नति तथा निर्माणका लागि चार करोड ६० लाख विनियोजन गरेको छ । यसले नगरपालिकाका सबै वडाहरूमा नियमित सडक सञ्चालनमा आउने लक्ष्य छ । विद्युतका लागि दुई करोड छुट्टयाएको छ । यसले सबै वडामा विद्युत् पुग्ने छ ।
रूपाकोट मझुवागढी नगरपालिकाले पनि पर्यटन प्रवद्र्धनलाई जोड दिएको छ । हलेसी आउने पर्यटकहरूका लागि मझुवागढीको रूपाकोट मझुवागढी नगरपालिका मझुवागढी क्षेत्रमा रहेको किरात ऐतिहासिक मझुवागढी, कालिका भगवती मझुवामाई र बुद्धेश्वर गुफा गन्तव्य बनाउन योजना बनाएको छ । हलेसी आउने तीर्थालुले कालिका भगवती मझुवामाई र बुद्धेश्वर गुफाको दर्शन नगरे तीर्थ अपूरो हुने विश्वासमा मझुवागढी आउने भएकाले व्यवस्थित गन्तवयको केन्द्र बनाउने योजना बनाइएको नगर प्रमुख दीपनारायण रिजालले बताए । सुरुमा कैशालबाट बग्दै आउने जयरामघाटस्थित दूधकासी नदीमा स्नान गरेर प्रशिद्ध धार्मिकस्थल हलेसी, तुवाचुङ जायजुम हँुदै मझुवाभाइसम्मको यात्रा तय गर्ने गरेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए ।
हिन्दु धर्मावलम्बीहरू हलेसीको दर्शनपछि कालिका भगवती मझुवामाइ, बुद्धेश्वर गुफामा पूजा आराधना गरे चिताएको पूरा हुने विश्वासमा आउने गरेको मझुवामाइका पुजारी छवि आचार्यले बताए । त्यसैगरी तुवाचुङ जायजुम आउने किराती समुदायका तीर्थालुसमेत मझुवागढी आउने गरेका छन् । यसले मझुवागढी क्षेत्र पर्यटनको केन्द्रविन्दु बन्न थालेको वाणिज्य संघका अध्यक्ष लयालुले सुनाए ।
मझुवामाइमा पाठीको बलिदिएर पूजा आराधना गरे इच्छाएको पूरा हुने विश्वासमा तीर्थालु आउने गरेको पुजारी आचार्यले सुनाए । त्यस्तै बुद्धेश्वर गुफामा रहेको शिव, पार्वती लगायतको पूजा आराधना गरे चिताएको पूरा हुने भन्दै तीर्थालुको ओइरो लाग्ने गरेको पुजारी नवराज घिमिरेको भनाइ छ ।
पर्यटनको केन्द्रविन्दुका रूपमा विकास गर्न रूपाकोट मझुवागढी नगरपालिकाले यस क्षेत्रको बृहत् गुरुयोजना पारित भएको छ । कान्तिपुरबाट